मलंगवा : नेपाली बजारमा मलको अभाव भएपछि किसानहरू महँगो मूल्य तिरेर भारतीय बजारबाट मल ल्याउन बाध्य बनेका छन् । कृषि समग्री कम्पनीले गुणस्तरहीन डल्ला परेको मल वितरण गर्न थालेपछि किसान मल लिन भारतीय बजार धाउन थालेका हुन् ।
डल्ला परेका मल पनि बजारमा उपलब्ध नभएपछि किसानहरूले भारतीय बजारबाट मल ल्याउने गरेका छन् । समयमा मल नपाएपछि आफूहरू बाध्य भएर भारतीय बजारमा जानुपरेको किसानहरूले बताएका छन् । बजारमा मलको अभाव हुनु र पाइने मल पनि गुणस्तरहीन भएपछि किसान चिन्तित बनेका छन् ।
‘भारतबाट पनि चाहेजति मल ल्याउन दिँदैन’, औहरीका रामविश्वास साहले बताए, ‘एक दिनमा आधा बोरा मल मात्र ल्याउन दिन्छ, दुई बोरा मल ल्याउन चार दिन भारतीय बजारमा जानुपर्छ’, साहले भने, ‘एक बोरा मलको पाँच सय भारतीय रुपैयाँ तिर्नुपर्छ ।’ त्यसमाथि पनि बट्टाको अलग्गै पैसा तिर्नुपर्छ ।’
दिनभर लगाएर भारतीय बजारसम्म गई मल ल्याइए पनि एक बोरा पनि नपाइने किसानहरूले दुखेसो पोख्ने गरेका छन् । त्यसमाथि व्यापारीहरूले प्रतिसय चार रुपैयाँ अलग्गै पैसा असुल्छन् । नेपाली बजारमा सात सय ६५ पर्ने मल भारतसम्म गई खरिद गर्दा नौ सयदेखि नौ सय ५० सम्म पर्छ ।
अहिले बजारमा कम गुणस्तरका मलसमेतको अभाव छ । सगरदिनाका बैजु महतो भन्छन्, ‘कुनै व्यापारीले मल राखे पनि चर्को मूल्य लिन्छ, आफ्नै देशमा मल पाइँदैन, भारत गए आधा बोराभन्दा बढी ल्याउन दिँदैन ।’ उनले बताएअनुसार तस्करहरूले लुकाई छिपाई स्थानीय व्यापारीलाई चर्को मूल्यमा नेपाली बजारमा मल बिक्री गर्ने गरेका छन् ।
बाहिरबाट मल आए पनि त्यो कम गुणस्तरको र डल्ला परेको हुने कृषि समग्री कम्पनी मलंगवाका प्रमुख ब्रजमणि लामाले बताए । उनले भने, ‘हामी बोरा खोलेर हेर्दैनौं । यसपटक आएको दुई सय १८ मेट्रिक टन मल पूरै डल्ला परेको रहेछ, त्यही मल पनि अहिले किसानका लागि छैन । मल आउने बित्तिकै किसानहरू तछाडमछाड गर्छन् । अहिले सबै मल बिक्री भइसकेको छ ।’ उनले बाहिरबाट मल आएको डल्ला परेको मल गुणस्तरहीन नभएको दाबी गरे ।
जिल्लाको ९० वटा सहकारीलाई भाग लगाएर वितरण गर्दा किसानलाई पर्याप्त मल नपुगेको हो । जिल्लामा ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । जिल्लामा करिब २ हजार मेट्रिक टन मलको माग छ ।