डिपिआर तयार भएको जग्गा नीजि स्कुललाई
शिक्षाखबर डेस्क
२ आश्विन २०७५, मंगलवार
no immg

वीरगन्ज — खेलकुद विकास समितिको जग्गा एक नीजि विद्यालय सञ्चालकलाई २० वर्षका लागि लिजमा दिने निर्णय गरिएको पाइएको छ । जिल्ला खेलकुद विकास समिति पर्साले वीरगन्ज महानगरपालिका-१३ मा रहेको समितिको जग्गाको बीच भागबाट १५ फिट चौडाई र २० मिटर लम्बाईको जग्गा भाडामा दिने निर्णय गरी राष्ट्रिय खेलकुद परिषदसँग राय मागेको छ ।

खेलकुद विकास समितिको खाली रहेको उक्त जग्गामा हालै राष्ट्रिय खेलकुद परिषदले तयार पारेको डिपिआर(विस्तृत अध्ययन प्रतिवेदन) मा पार्किङका लागि छुट्याइएको छ । राखेपाको स्वामित्वमा फुटबल र क्रिकेट मैदान सहित १८ विघा जग्गा छ । राखेपले २५ लाख रुपैयाँ खर्च गरी बनाएको डिपिआर अनुसार नारायणी रंगशाला पुनर्निर्माणपछि फुटबल मैदानको १५ हजार र क्रिकेट मैदानको ७ हजार दर्शक क्षमता रहने छ । हाल विद्यालयलाई दिन लागिएको जग्गाको उत्तर र दक्षिणमा पनि राखेपाको जग्गा छ । बीच भागबाटै नीजि स्कुललाई पार्किङको नाममा २० वर्षका लागि जग्गा दिँदा रंगशाला निर्माण भएपछि पार्किङको समस्या हुने खेलाडी र अन्य पदाधिकारीले दाबी गरेका छन् ।
Yamaha

वीरगन्जको गौतम माध्यमिक विद्यालयले उच्च शिक्षा अध्यापनका लागि निर्माण गर्न लागेको नयाँ भवनमा जान बाटो छैन् । बिना बाटोकै विद्यालयले खेलकुद विकास समितिको जग्गा वरिपरि केही वर्ष पहिले सस्तो मूल्यमा करिब १० कठ्ठा जग्गा खरिद गरेको थियो । यसअघि करिब दुई महिना अगाडि विद्यालयले जबरजस्ती जग्गा अतिक्रमण गरी माटो पुरिसकेको छ । सरकारी जग्गा अतिक्रमण गरेको समाचार प्रकाशित भएपछि स्थानीय प्रशासनले थप माटो पुर्नमा रोक लगाएको थियो । त्यसबेला खेलकुद विकास समितिका पदाधिकारीपनि प्रशासनमा अतित्रमण हटाउन धाइरहेका थिए ।
सम्वद्ध स्रोतका अनुसार विगतमा अतिक्रमणको विरोध गर्नेलाई नै विद्यालय सञ्चालकले भित्री रुपमा सहमतिमा ल्याएपछि अहिले अतिक्रमणलाई वैधानिकता प्रदान गर्न लागिएको छ । ‘जिल्लाले गरेको निर्णयको फाइल लिएर नेपाल कम्युनिष्ट पार्टीकै एक कार्यकर्ता काठमाडौँ गएका छन्,’ नाम उल्लेख नगर्ने शर्तमा समितिका एक पदाधिकारीले भने, ‘विद्यालय सञ्चालकले सबै पक्षलाई मिलाएपछि पहिले विरोध जनाउनेहरुनै अहिले निर्णय गराई फाइल लिएर राखेपा कार्यालय धाइरहेका छन् ।’

प्रतिक्रिया