अंग्रेजी माध्यमको पढाइले विद्यार्थीको संख्या वृद्धि
शिक्षाखबर डेस्क
२ आश्विन २०७५, मंगलवार
no immg

रामेछाप / मन्थली नगरपालिका–६ भलुवाजोरस्थित कुनौरी र हात्तीटारमा रहेका माझी बस्तीका सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेका छन् । चालू शैक्षिकबाट स्थानीय दुईवटा सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको संख्यामा वृद्धि भएको हो ।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएपछि जनप्रतिनिधि र स्थानीयवासीको पहलमा सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको हो । माझी समुदायको बसोवास धेरै रहेको कुनाउरीको पञ्चकन्या आधारभूत विद्यालय र हात्तीटारमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयले अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेका हुन् । सरकारी विद्यालयमै अंग्रेजी माध्यमबाट पढाइ सुरु भएपछि अभिभावक पनि खुसी भएका स्थानीय बुद्धे माझीले बताए ।

बोर्डिङबाट सरकारीमा
सामुदायिक विद्यालयमै अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि निजी विद्यालयका विद्यार्थी पनि सामुदायिक विद्यालयमा फर्किएका सिद्धेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक केदारप्रसाद प्रसार्इंले जानकारी दिए । नगरपालिकाले शिशु कक्षादेखि कक्षा ८ सम्म अनिवार्य रूपमा अंग्रेजी माध्यममा पढाइ गर्न निर्देशन दिएपछि सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेका हुन् ।

यस वर्ष तल्ला कक्षामा अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेका विद्यालयले आगामी शैक्षिकसत्रदेखि माथिल्ला कक्षामा पनि अंग्रेजी माध्यममै पढाइ गर्ने तयारी अघि बढाएका मन्थली–६ का वडाध्यक्ष गोपाल माझीले बताए ।

उनले भने, ‘निजी विद्यालयमा शुल्क महँगो छ । सरकारी विद्यालयमै अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि अभिभावकले आफ्ना बालबालिका बोर्डिङ स्कुलबाट निकाल्ने क्रम बढेको छ ।’ ‘छोराछोरीले अंग्रेजी सिकून् भनेर बोर्डिङ स्कुलमा भर्ना गरेको थिएँ,’ स्थानीय नवराज माझीले भने, ‘तर, अहिले गाउँका सरकारी विद्यालयलमै अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि अब बोर्डिङमा पढाउनुपर्ने अवस्था रहेन ।’

मन्थली नगरपालिका–६ भलुवाजोरमा एउटा माध्यमिक र सातवटा आधारभूत विद्यालय छन् । ती सबै विद्यालयमा क्रमशः अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्ने लक्ष्य राखिएको वडाध्यक्ष गोपाल माझीले बताए ।

प्रतिक्रिया