प्राध्यापकको राजीनामा २६ वर्षसम्म पनि स्वीकृत भएन
शिक्षाखबर डेस्क
३ आश्विन २०७५, बुधबार
no immg

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकको राजीनामा २६ वर्षसम्म पनि स्वीकृत नभएको खुलेको छ । ०४९ मा दिएको राजीनामा अझैसम्म स्वीकृत नभएको हो । ०४९ देखि केही वर्षअघिसम्म राजीनामा दिएका कुल २७ प्राध्यापकको राजीनामा स्वीकृत भएको छैन । उनीहरूको राजीनामा स्वीकृत नहुँदा उक्त पदमा नयाँ प्राध्यापक नियुक्त हुन सकेका छैनन् ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रमुख प्रा.डा. गोकर्णबहादुर मोत्राले ०४९ सालदेखि हालसम्म २७ जनाको राजीनामा स्वीकृत नभएको बताए । क्याम्पस प्रमुख मोत्राले जिम्मेवारीमा हुँदा लगेका सामानको बुझबुझारथ नगरेका कारण राजीनामा स्वीकृत नभएको बताए । वर्षांैअघि राजीनामा दिएका प्राध्यापक अहिले को कहाँ छ भन्नेसमेत जानकारी नहुँदा समस्या भएको पनि सुनाए ।

राजीनामा दिएर व्यापारमा लागेका इच्छाराज तामाङ सांसद बनिसके, तर राजीनामा स्वीकृत भएको छैन
जागिरबाट राजीनामा दिएर कोही विदेशतिर पुगेका छन् भने कोही देशभित्रै व्यापार व्यवसायदेखि राजनीतिमा लागेका छन् । व्यवसायी तथा तत्कालीन एमालेका सांसद इच्छाराज तामाङ उदाहरण हुन् । १२ वर्षअघि उपप्राध्यापक पदबाट राजीनामा दिएका तामाङको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन ।

तामाङको जिज्ञासा : १२ वर्षसम्म राजीनामा स्वीकृत नगरे तलब दिन्छ ?
मैले उपप्राध्यापकबाट ११/१२ वर्ष पहिले राजीनामा दिएको हो । राजीनामा दिएपछि बुझबुझारथ छ भनेर कहिल्यै जानकारी, चिठी दिएको छैन । यत्रो वर्षसम्म राजीनामा स्वीकृत नगरेर त्रिविले अब तलब दिन्छ त ? राजीनामा दिएपछि स्वीकृत गर्ने गराउने काम क्याम्पस प्रशासनको हो । केही गर्नुपर्ने भएमा सम्पर्क गर्नुपथ्र्यौ । स्वीकृत भनेर बस्यौँ, अहिलेसम्म स्वीकृत नभएको जानकारी छैन । यो क्याम्पस प्रशासनको कमजोरी हो ।

जसको राजीनामा स्वीकृत भएन
राजीनामा स्वीकृत नहुनेमा सहायक प्रशिक्षक, उपप्राध्याक, सहप्राध्यापकदेखि प्राध्यापकसमेत छन् । राजीनामा स्वीकृत नहुनेमा तामाङसहित डा. प्रज्ज्वललाल प्रधान, मनोजकुमार पाण्डे, डा. जिष्णुकुमार सुवेदी, डा. इन्द्रराज हुमागाइँ, राजेन्द्र राजभण्डारी, बिरेस शाह, विनयकुमार भण्डारी, डा. विष्णुप्रसाद भट्टराई, विनोद केसी, विनोद बैद्य छन् । त्यसैगरी, दीपेन्द्रराज सुवेदी, डा. कमल रिजाल, शिवओम बादे श्रेष्ठ, पुरुषोत्तमराज काफ्ले, डा. गुणराज पौडेल, डा. होमनाथ ढकाल, निशा धौभडेल, कृष्णप्रसाद कायस्थ, द्रोणराज घिमिरे, राजीनामा स्वीकृत नहुनेको सूचीमा छन् । राजेन्द्रदेव अधिकारी, केशवलाल श्रेष्ठ, दीपेन्द्र मल्ल, किरणराज जोशी, नारायणप्रसाद काफ्ले, दीपेन्द्र पोखरेल र विजयराज भट्टराईको पनि राजीनामा स्वीकृत भएको छैन ।

राजीनामा सनाखत गराउँदै
वर्षौंसम्म स्वीकृत नभएका राजीनामा सनाखत हुने भएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसले ०४९ देखिको राजीनामा स्वीकृत गराउन त्रिवि केन्द्रीय कार्यालयमा फाइल पठाएको थियो । तर, त्रिवि केन्द्रीय कार्यालय प्रशासनबाट सो फाइल फिर्ता भएको छ । क्याम्पसले सार्वजनिक सूचना गरेर राजीनामा दिएकाहरूलाई सनाखत गराउने प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया