काठमाडौं ६ असोज / परीक्षा नियन्त्रण कार्यालयको यात्रा ८५ वर्षमा आएर टुङ्गिएको छ । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत ल्याउने निर्णयपछि पनिकालाई अब इतिहासमा मात्र पढ्न पाइने भएको हो । पनिकाको साइन बोर्डलाई झिकेर त्यहाँ राष्ट्रिय परीक्षा बोर्डको बोर्ड झुण्ड्याइएको छ ।
१९९० साल कात्तिक १६ गते सनद जारी गरी नेपाल सरकार शिक्षा विभागअन्तर्गत एसएलसी परीक्षा बोर्ड स्थापना गरिएको थियो । पछि कन्ट्रोलर अफिस नामकरण गरिएको थियो भने २००७ पछि पुनः परीक्षा नियन्त्रण कार्यालय बनाइयो ।
पनिकालाई सानोठिमीस्थित भवनमा २०४४ सालमा सारिएको थियो । पनिकामा ५९ कर्मचारीको दरबन्दी रहे पनि हाल ४० जना कर्मचारी छन् र उनीहरूलाई अर्काे व्यवस्था नहुन्जेलका लागि भनेर काजमा खटाइएको छ ।
परिक्षा बोर्डका सूचना अधिकारी नारायण पोखेरेलले साविकको पनिकालाई अब शैक्षिक अभिलेखालयकारुपमा रुपान्तरण गरिने बताउनुभयो । शिक्षा मन्त्रालयका पदाधिकारीहरूका अनुसार पनिका नरहे पनि त्यहाँ कक्षा १०, ११ र १२ का मार्कलेजर राख्ने तथा प्रमाणपत्र जारी गर्ने अड्डाका रुपमा विकास गरिनेछ ।
अबदेखि एसईईको परीक्षा प्रदेशस्तरमा सञ्चालन गर्ने भनी निर्णय भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले प्रश्नपत्र छाप्नेदेखि परीक्षा व्यवस्थापनसम्बन्धी सबै कार्य प्रदेशमा भए पनि हाललाई प्रश्नपत्र बोर्डले केन्द्रबाट नै तयार गरेर पठाउने बताउनुभयो । २०७३ सालबाट एसईई परीक्षाको उत्तरपुस्तिका र प्रमाणपत्रको सिरानमा राष्ट्रिय परीक्षा बोर्ड लेख्न थाले पनि पनिकाले नै परीक्षा सञ्चालन गर्दै आएको थियो ।
परीक्षा बोर्डले कक्षा १० र १२ को वार्षिक परीक्षा सञ्चालन गरे पनि कक्षा ११ को परीक्षाका बारेमा प्रष्ट निर्णय भइसकेको छैन । सरकारले स्वीकृत गरेको पाठ्यक्रम प्रारुप संरचनामा पनि कक्षा ११ को परीक्षा सञ्चालनका बारेमा उल्लेख छैन । बोर्डका पदाधिकारीहरु आगामी वर्षबाट कक्षा ११ को परीक्षा सञ्चालन नहुनसक्ने र त्यसको व्यवस्थापन कसले गर्ने भन्ने निर्णय हुन बाँकी रहेको बताउँछन् ।
राजस्व कसले उठाउने भन्ने बारेमा निर्णय हुन नसक्दा कक्षा ९ को रजिष्ट्रेसन फाराम भर्न आह्वान गरिएको छैन । विगतमा असार साउनमै यस्तो फाराम भर्ने गरिन्थ्यो । पनिकालाई राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत ल्याइए पनि पनिकाले उठाउने गरेको राजस्वका बारेमा निर्णय भइसकेको छैन ।
परीक्षा नियन्त्रक रामशरण सापकोटाले विद्यार्थीबाट लिइने शुल्क विगतमा राजस्व खातामा जम्मा हुने गरेकोमा अब बोर्ड अन्तर्गत आएपछि त्यस्तो शुल्क बोर्डको खातामा जाने वा राजस्वमा भन्ने स्पष्ट नभइसकेकाले रजिष्ट्रेसन फाराम भर्न खुला नगरिएको बताउँदै छिटै यसबारेमा टुङ्गो लाग्ने बताउनुभयो ।
गत महिना राष्ट्रिय परीक्षा बोर्डले पनिकालाई विद्यार्थीबाट लिइने शुल्क सम्पूर्ण बोर्डको खातामा जम्मा गरिदिन परिपत्र गरेको थियो, तर पनिकाले त्यसरी रकम जम्मा गर्न सम्बन्धित मन्त्रालयबाट लिखित परिपत्र नआएकोले सो नसक्ने भन्दै अहिलेसम्म पनि राजस्व खातामा नै रकम जम्मा गर्दै आएको छ ।