सामुदायिक विद्यालयमा स्थानीय तहबाटै शिक्षक नियुक्त
शिक्षाखबर डेस्क
७ आश्विन २०७५, आईतवार
no immg

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले सामुदायिक विद्यालयमा आफ्नै शिक्षक नियुक्त गरेको छ। सुर्नया शिक्षक नाम दिएर निजी स्रोतमा काम गरिरहेका शिक्षकलाई गाउँपालिकाले तलब दिने गरी नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए।

निजी स्रोतका शिक्षकलाई तलब दिन अभिभावकले पैसा तिर्नुपर्ने बाध्यता अन्त्य गर्न कार्यविधि बनाएर गाउँपालिकाले शिक्षक नियुक्त गरेको अध्यक्ष विष्टले बताए। उनले भने, ‘शिक्षामाथि अभिभावकको भार कम गर्न गाउँपालिकाले सुर्नया शिक्षक नियुक्त गरेको हो। हामीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहलस्वरूप शिक्षक नियुक्त गरेका हौं।’

गाउँपालिकाभरिका ३९ सामुदायिक विद्यालयमा कार्यरत ८० भन्दा बढी शिक्षक र कार्यालय सहयोगीलाई नियुक्त गरिएको अध्यक्ष विष्टले बताए। उनले भने,‘हामीले गाउँपालिकाको शिक्षा ऐनसमेत पारित गरेका छौं। सोही ऐनका आधारमा कार्यविधि बनाएर सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गरेका छौं।’

गाउँपालिकाले कक्षा १२ सम्म पढाउने शिक्षकलाई २५ हजार, मावि तहमा कक्षा १० सम्म पढाउने शिक्षकलाई २० हजार, आधारभूत तहमा कक्षा ८ सम्म पढाउने शिक्षकलाई १५ हजार र आधारभूत तहमा कक्षा ५ सम्म पढाउने शिक्षकलाई मासिक १० हजार रुपैयाँका दरले तलब दिएको अध्यक्ष विष्टले बताए। यस्तै कार्यालय सहयोगीलाई ८ हजारका दरले तलब दिने गरिएको उनले बताए।

सामुदायिक विद्यालयमा आयस्रोत नभएका कारण निजी स्रोतका शिक्षक आउने जाने गरेकामा अब त्यस्तो समस्या नभएको केदार मावि कठमडाका प्रधानाध्यापक वीरेन्द्रबहादुर चन्दले बताए। उनले भने, ‘विद्यालयले शिक्षक नियुक्त गर्ने समयमा तलब दिन नसक्दा बीचमै छाडेर जान्थे। गाउँपालिकाले शिक्षक नियुक्त गरेपछि अब त्यो समस्या रहेन। यसले शैक्षिक गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।’

‘परीक्षाका बेला शिक्षक तलब नपाएर पढाउनै छाडिदिन्थे। गाउँपालिकाले शिक्षकको व्यवस्था गरेपछि नियमित पढाइ हुने गरेको छ’, सिद्धनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशदत्त अवस्थीले भने, ‘शिक्षा क्षेत्रमा स्थानीय सरकारले गरेको लगानी सराहनीय छ। यसले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुर्‍याउनेछ।’

गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष विष्टले बताए। उनले भने, ‘हामीले विद्यालय व्यवस्थापन र अभिभावक शिक्षा कार्यक्रम भनेर बजेट विनियोजन गरेका छौं। यसमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने हाम्रो योजना छ।’

गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन गरेकाले सामुदायिक विद्यालयका आधा समस्या समाधान हुने रौलेश्वर माविका शिक्षक नवराज मडैले बताए। उनले भने, ‘सामुदायिक विद्यालयमा निजी स्रोेतका शिक्षक व्यवस्थापन चुनौतीका रूपमा थियो। गाउँपालिकाले बजेट विनियोजन गरेर शिक्षक व्यवस्थापन गरेकाले विद्यालयका धेरै समस्या समाधान हुनेछन्। जसले गर्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउनेछ।’

विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरिने

सुर्नया गाउँपालिकाले विद्यालयसँग अध्यक्ष कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने, अभिभावकलाई विद्यालयप्रतिको अपनत्व बढाउने उद्देश्यसाथ कार्यक्रम सञ्चालनको तयारी भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए। उनले भने, ‘यो कार्यक्रमअन्तर्गत प्रत्येक सामुदायिक विद्यालयमा अध्यक्षसहित जनप्रतिनिधिको टोली पुगेर शिक्षक, अभिभावक र विद्यार्थीसँग अन्तरक्रिया गर्नेछौं। विद्यालयमा देखिएका समस्या त्यसैअनुसार समाधानको प्रयास गर्नेछौं।’

शैक्षिक गुणस्तर सुधार गाउँपालिकाले आफ्नो मुख्य लक्ष्य राखेकाले आफूले जनप्रतिनिधिसहित विद्यालयमा पुग्ने योजना बनाएको अध्यक्ष विष्टले बताए। उनले भने, ‘सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न सके मात्रै हाम्रो अन्य विकास सम्भव छ। त्यसैले हामीले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छौं।

प्रतिक्रिया