संस्कृत विश्वविद्यालयमा एक विद्यार्थीका लागि ४८ लाखसम्म खर्च
शिक्षाखबर डेस्क
१० आश्विन २०७५, बुधबार
no immg

दाङ/नेपाल संस्कृत विश्वविद्यालयमा एक विद्यार्थीका लागि वार्षिक ४८ लाखसम्म लगानी हुन्छ । संस्कृतमा स्नातकोत्तर पढाइ हुने जनता विद्यापीठमा आर्थिक वर्ष ०७४/७५ मा पाँच करोड ७९ लाख ५८ हजार बजेट विनियोजन गरेको थियो । विद्यापीठमा पहिलो र दोस्रो वर्ष गरी जम्मा १२ विद्यार्थी भर्ना भए । सो विद्यापीठमा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीका लागि प्रतिविद्यार्थी ४८ लाख २९ हजार आठ सय ३३ रुपैयाँ लगानी भएको छ ।

सो विद्यापीठमा विद्यार्थी संख्या निरन्तर घट्दै गएको छ । यस वर्ष पनि अहिलेसम्म पहिलो वर्षमा सात विद्यार्थी मात्र अध्ययन गरेका छन् । ती विद्यार्थीका लागि २२ स्थायी प्राध्यापक र ६ आंशिक शिक्षक नियुक्त भएका छन् ।

आन्दोलनबाट आक्रान्त विश्वविद्यालय
नेपालमा संस्कृत शिक्षाको विकास र विस्तार गर्ने उद्देश्यले ०४३ मा विश्वविद्यालय स्थापना भएको थियो । चरम राजनीतिका कारण विश्वविद्यालय कार्यकर्ता तथा आफन्त भर्तीकेन्द्रका रूपमा स्थापित भएको छ । बेलझुन्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अध्ययन–अनुसन्धानका लागि छलफल हुनेभन्दा विभिन्न स्वार्थ पूर्तिका लागि तालाबन्दी गर्ने थलोका रूपमा परिणत भएको छ । विगतमा १९ महिनासम्म विश्वविद्यालयमा तालाबन्दी भएको छ ।

नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले संस्कृत विश्वविद्यालय नेपालको अमूल्य सम्पत्ति भए पनि जागिर खाने थलोका रूपमा सीमित भएको बताए । ‘पूर्वीय दर्शनको अध्ययन तथा प्रवद्र्धनका लागि संस्कृत विश्वविद्यालय एक अमूल्य सम्पत्ति हो । तर, विभिन्न स्वार्थका कारण यसले गति लिन सकेको छैन,’ संयोजक पन्तले भने । निजी स्वार्थका कारण विश्वविद्यालयको स्तर खस्किएको उनको भनाइ छ ।

आगामी वर्षबाट विद्यार्थी बढ्छन् : उपकुलपति कोइराला
विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले आगामी वर्षबाट विद्यार्थी संख्या बढ्ने दाबी गरे । तल्लो तहदेखि नै संस्कृत विधा अध्ययनको व्यवस्था गरिएकाले आगामी वर्षबाट विद्यार्थीको संख्या बढ्ने उनको तर्क छ । ‘हालका वर्षमा विद्यार्थीको संख्या घटेको पक्कै पनि हो,’ उपकुलपति कोइरालाले भने, ‘तर, आगामी वर्षमा स्नातक तहमा नै संस्कृत अनिवार्य अध्ययन गनुपर्ने व्यवस्था गरेका छौँ ।’ विश्वविद्यालयमा आकर्षण बढाउनका लागि अन्य योजना पनि तयार भइसकेको उनले बताए ।

बर्सेनि विद्यार्थी घट्दै, बजेट बढ्दै
नेपाल संस्कृत विश्वविद्यालयका नेपालभर १९ विद्यापीठ तथा अनुसन्धान केन्द्र छन् । तर, यी विद्यापीठमा अध्ययन गर्ने विद्यार्थीको संख्या बर्सेनि घट्दै गएको छ । आर्थिक वर्ष ०७०/७१ मा देशभरका विद्यापीठमा चार हजार ३९ जना विद्यार्थीले अध्ययन गरेका थिए । आव ०७१/७२ मा तीन हजार चार सय १२ र ०७२/७३ मा तीन हजार सात सय ३१ विद्यार्थीले विश्वविद्यालयमा अध्ययन गरेका थिए ।

तर, आर्थिक वर्ष ०७३/७४ सम्म आइपुग्दा जम्मा दुई हजार सात सय ५८ विद्यार्थी भर्ना भएका थिए । परीक्षा नियन्त्रक नीलप्रकाश सापकोटाले गत वर्ष उत्तरमध्यमा (इन्टरमिडियट) तहसमेत खारेज भएकाले विद्यार्थी संख्या निरन्तर कम भएको बताए । विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्दै गए पनि बजेटको आकार भने बर्सेनि बढ्दो छ । आव ०७१/७२ मा ४६ करोड ३१ लाख बजेट विनियोजन भएको थियो । आव ०७४/७५ मा बजेटको आकार बढेर ६३ करोड ५७ लाख पुगेको छ । अहिले विश्वविद्यालयमा सात सय ५४ शिक्षक र चार सय ४६ कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया