आयुर्वेदको पढाइ दाङमा, प्रयोगात्मक भारतमा
शिक्षाखबर डेस्क
१२ आश्विन २०७५, शुक्रबार
no immg

नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेदिक विद्यापीठमा ब्याचलर इन आयुर्वेद एन्ड मेडिकल सर्जरी (बिएएमएस) अध्ययन गर्ने विद्यार्थी प्रयोगात्मकका लागि भारत गइरहेका छन् । विद्यापीठमा आयुर्वेदसम्बन्धी पढाइ भए पनि प्रयोगात्मकका लागि अस्पताल नहुँदा विद्यार्थी भारत जान बाध्य भएका हुन् ।

नेपाल आयुर्वेद परिषद्का रजिस्ट्रार डा. नारायण श्रेष्ठले केन्द्रीय विद्यापीठमा पढाइ हुने, तर प्रयोगात्मक कक्षाका लागि विद्यार्थी बाहिर पठाउने गरेकाले यस वर्ष सुधार गर्नुपर्ने सर्त राखेको बताए । केन्द्रीय विद्यापीठमा पढाइ हुने, तर प्रयोगात्मक कक्षाका लागि भारतको हरिद्वार तथा देशका अन्य स्थानमा रहेका विद्यापीठमा विद्यार्थी पठाउने गरेको उनले बताए । ‘केन्द्रीय क्याम्पसको नै यो हालत भएपछि अन्यत्रको के होला ?’ रजिस्ट्रार श्रेष्ठले भने, ‘पढाइ र प्राक्टिकल केन्द्रीय विद्यापीठमा नै हुनुपर्ने नियम लागू गर्न कडाइ गरेका छौंँ । विश्वविद्यालयले सर्त पूरा गरेमा मात्र यस वर्षका लागि बिएएमएस कक्षा सञ्चालन गर्ने अनुमति पाउनेछ ।’

बिएएमएस कार्यक्रम अलपत्र

नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेदिक विद्यापीठमा बिएएमएस कार्यक्रम अलपत्र परेको छ । मापदण्ड पूरा नगरेका कारण आयुर्वेदिक चिकित्सा परिषद्ले कार्यक्रम सञ्चालनको स्वीकृति नदिएपछि कार्यक्रम अलपत्र परेको हो ।

बिएएमएस अध्ययनका लागि विद्यार्थीले अस्पतालमा प्रयोगात्मक अभ्यास गर्नुपर्छ । तर, अस्पतालमा त्यसको व्यवस्था नगरेपछि बिएएमएस कार्यक्रम अध्ययन गर्ने विद्यार्थी नजिकैको मध्यपश्चिम क्षेत्रीय आयुर्वेदिक र भारतसम्म जान बाध्य छन् । भदौभित्रै प्रवेश परीक्षा हुनुपर्नेमा स्वीकृति नपाएका कारण अहिलेसम्म भर्ना प्रक्रिया अघि बढेको छैन ।

केन्द्रीय विद्यापीठमा ०५५ देखि पूरक कोर्सका रूपमा कार्यक्रम सुरु भए पनि ०६९ देखि बिएएमएस कार्यक्रम सञ्चालन भइरहेको छ । केही दिनअघि परिषद्को टोलीले विद्यापीठको अनुगमन गरेको थियो । यद्यपि, आवश्यक सेवा तथा पूर्वाधार विकास गर्न नसकेको भन्दै टोलीले विश्वविद्यालयलाई यस वर्ष बिएएमएस कक्षा सञ्चालन गर्नका लागि केही सर्त राखेको थियो । बिएएमस पठनपाठनका लागि हरेक वर्ष परिषद्को अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था छ ।

अन्य कलेजलाई समेत समस्या

केन्द्रीय विद्यापीठले कार्यक्रम सञ्चालनको अनुमति नपाएपछि अरू कलेजलाई समेत समस्या भएको छ । केन्द्रीय विद्यापीठको प्रवेश परीक्षा उत्तीर्ण भएपछि मात्र देशका अन्य स्थानमा कोटाअनुसार पढ्न पाउने व्यवस्था छ । तर, केन्द्रीय विद्यापीठमा पढाइ हुने वा नहुने अन्योल हुँदा अन्य विद्यापीठको पठनपाठनमा पनि असर पर्ने भएको छ । सो विश्वविद्यालयअन्तर्गत जनकपुरमा रहेको मिथिला आयुर्वेद कलेज ०७२ देखि बन्द छ । काभ्रेको धुलिखेलस्थित पतञ्जली रिसर्च सेन्टरमा पनि आयुर्वेदको पढाइ हुँदै आएको छ ।

विश्वविद्यालयले जनशक्ति नदिएको गुनासो

केन्द्रीय आयुर्वेद विद्यापीठका डिन डा. सञ्जय पोख्रेलले भने विश्वविद्यालयले जनशक्ति उपलब्ध नगराएका कारण समस्या भएको बताए । विश्वविद्यालयले अन्य संकायका लागि कर्मचारी भर्ना गर्ने, तर आयुर्वेद विद्यापीठका लागि दुई वर्षयता पटकपटक माग गर्दा पनि उपलब्ध नगराएको बताए ।
अहिले करिब १२ जनाजति आयुर्वेद विशेषज्ञ चिकित्सक छन् । तर, ल्याब तथा नर्सिङलगायत कर्मचारी नभएकाले विद्यापीठलाई आवश्यकताअनुसार सञ्चालन गर्न नसकेको बताए ।

प्रतिक्रिया