• समाचार

    खारेज भएका अस्पताल विकास समिति ब्युँताउने तयारी

    १४ आश्विन २०७५, आईतवार

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खारेज भइसकेका अस्पताल विकास समिति ब्युँताउने तयारी गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा खारेज भएका ११ वटा अस्पताल विकास समिति ब्युँताउन लागिएको हो । मन्त्रालयका अनुसार समिति खारेज भएका अस्पताल विकास समिति ब्युँताउन आवश्यक टिप्पणीसहित सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषद् पठाइएको छ ।

    असारमा खारेज भएका थिए विकास समिति
    सरकारले गत २० असारको मन्त्रिपरिषद् बैठकमार्फत देशभरका अस्पताल विकास समिति खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै स्वास्थ्य मन्त्रालयले आफू मातहतका सबै अस्पताल विकास समिति खारेज गर्दै त्यहाँ कार्यरत पदाधिकारीलाई जिम्मेवारीबाट हटाएको व्यहोरासहितको पत्र केही दिनअगाडि मात्रै थमाएको छ ।

    स्वास्थ्यमन्त्री यादवका निजी सचिव भवनाथ खतिवडाका अनुसार संघ मातहत रहेका अस्पताल विकास समितिका पदाधिकारीलाई २५ भदौको मन्त्रीस्तरीय निर्णयबाट हटाइएको बताए । देशभर ७७ वटा अस्पताल विकास समिति थिए । उनका अनुसार ७७ मध्ये संघ मातहत रहेका ११ वटा अस्पताल विकास समितिलाई पुनः ब्युँताउन सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषद्मा गत आइतबार फाइल पठाएको छ ।

    ‘विकास समिति गठन आदेश २०१३ बमोजिम आवश्यकता र औचित्यका आधारमा ११ वटा अस्पतालका अस्पताल विकास समिति ब्युँताउने स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको हो । मन्त्रिपरिषद्बाट उक्त प्रस्ताव पास भए नयाँ पदाधिकारी नियुक्त गरिनेछ,’ खतिवडाले भने ।

    यसकारण समिति खारेज गरिएको थियो
    स्वास्थ्य मन्त्रालयले अस्पताल विकास समिति अध्यक्षहरूले गैरकानुनी रूपमा तलबभत्ता बुझेको पाएपछि समिति खारेज गर्ने निर्णय गरेको थियो । समिति अध्यक्षहरूले आफ्नै गाडी प्रयोग गरेर गाडी भाडासमेत विकास समितिको खाताबाट असुल गरेको पाइएको थियो । समितिको नाममा पदाधिकारी आर्थिक अनियमिततामा संलग्न भएको पाइएपछि उक्त समिति राखिरहनुको कुनै औचित्य नभएको भन्दै खारेज गरिएको मन्त्रालयका समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले बताए ।

    ब्युँताउन लागेका ११ अस्पताल विकास समिति

    -कान्ति बाल अस्पताल
    -वीर अस्पताल
    -प्रसूति तथा स्त्री रोग अस्पताल
    -नरदेवी आयुर्वेद अस्पताल
    -सहिद शुक्रराज ट्रपिकल अस्पताल
    -धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्र
    -सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र
    -पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
    -मानसिक रोग अस्पताल
    -पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
    -कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

    साभार- नयाँ पत्रिका