प्रश्नपत्र आउट गर्ने दुई विद्यार्थी नेता पक्राउ
शिक्षाखबर डेस्क
१४ आश्विन २०७५, आईतवार
no immg

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बिएससी–सिएसआइटी विषयको प्रवेश परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई विद्यार्थी नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)का अनेरास्ववियुका नेता कमलराज जोशी र प्रवीण अधिकारी छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को विशेष टोलीले ताहचलस्थित महेन्द्ररत्न क्याम्पसबाट उनीहरूलाई पक्राउ गरेको हो । सिआइबी प्रमुख डिआइजी नारायणसिंह खड्काले अनधिकृत रूपमा प्रश्नपत्र आउट गरेको अभियोगमा दुईजना विद्यार्थी नेता पक्राउ परेको बताए । उनले भने, ‘दुई विद्यार्थी पक्राउ परेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । तथ्य फेला परेपछि वास्तविकता सार्वजनिक हुनेछ ।’

प्रहरीका अनुसार उनीहरूले विद्यार्थीसँग लाखौँ रुपैयाँ असुलेर प्रश्नपत्र आउट गरेका थिए । पैसा दिने विद्यार्थीलाई उनीहरूले पश्नपत्र उपलब्ध गराएका थिए । डिआइजी खड्काले भने, ‘उनीहरू प्रश्नपत्र राखिएको ठाउँमा अनधिकृत रूपमा प्रवेश गरेको देखिन्छ । त्यसक्रममा उनीहरूले प्रश्नपत्रको सिल तोडे । मोबाइलमार्फत प्रश्नको फोटो खिचेर सीमित विद्यार्थीलाई पठाएको देखिन्छ ।

यद्यपि, यस विषयमा अनुसन्धान हुँदै छ । उनीहरूको बयान भोलिबाट सुरु हुन्छ । त्यसपछि घटनाको वास्तविकता खुल्ला ।’ घटनापछि अस्कल क्याम्पस तथा महेन्द्ररत्न क्याम्पस ताहचलका केही विद्यार्थी नेता फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया