काठमान्डौ/त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय कीर्तिपुरमा विद्यार्थीले तोडफोड गरेका छन् । शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीमाथि समेत उनीहरूले दुव्र्यवहार गरेका छन् । त्रिविले सोमबार विज्ञप्ति जारी गरी यस्तो जनाएको हो ।
छलफलका लागि समय उपलब्ध नगराएको भन्दै कार्यालयमा पुगेर आइतबार साढे १० बजे ८–१० जना विद्यार्थीले शिक्षाध्यक्षलाई दुव्र्यवहार गर्दै कार्यालय तोडफोड गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले कर्मचारीहरू समेतलाई त्रस्त पारेको शिक्षाध्यक्षको कार्यालयका प्रमुख निर्मल मिश्रले बताए ।
शिक्षाध्यक्ष शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा भाग लिन जान लाग्दा विद्यार्थीहरू पुगेका थिए । प्राज्ञिक निकायमा विद्यार्थीबाट अमर्यादित क्रियाकलाप भएको भन्दै शिक्षाध्यक्ष प्रा.डा. त्रिपाठीले खेद जनाएकी छिन् ।