विमानस्थलका प्रहरीलाई अंग्रेजी भाषाको तालिम
शिक्षाखबर डेस्क
१७ आश्विन २०७५, बुधबार
no immg

काठमान्डौ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीको व्यवहार सुधार गर्न अंग्रेजी भाषादेखि विभिन्न तालिम दिन थालिएको छ । त्यसका लागि विशेष कोर्स नै तयार पारिएको छ ।

विमानस्थलमा कार्यरत प्रहरीले ठूलो संख्यामा विदेशी नागरिकलाई सेवा दिनुपर्ने भएकाले उनीहरूलाई अंग्रेजी भाषाको तालिम दिइएको महानगरीय विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

तालिमपछि प्रहरीको व्यवहारमा परिवर्तन देखिन थालेको डिआइजी कमलबहादुर जिटीले बताए । प्रहरीमा सुधारसँगै विमानस्थलको सुरक्षालाई बलियो बनाउन पनि विभिन्न सुधार गरिएको उनको भनाइ छ ।

जसअन्तर्गत सिसिटिभी र वाक थु्र गेट थप गरिएको छ । कतिपय सिसिटिभी विज्ञापनका बोर्डले छोपेकाले त्यस्ता बोर्डहरू हटाइएको छ । विमानस्थल कानुन कार्यान्वयनका साथै सेवा दिने निकाय भएकाले प्रहरीलाई त्यही रूपमा विकास गर्न लागिएको डिआइजी जिटीको भनाइ छ ।

१५ घन्टासम्म ड्युटी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कुनै समय प्रहरीका लागि आकर्षक कार्यालय थियो । त्यहाँ जान प्रहरीले सोर्सफोर्स नै लगाउने गर्थे । तर, अहिले विमानस्थलबाट सरुवा भएर अन्यत्र जान सोर्सफोर्स चल्न थालेको छ । दिनमा १५ घन्टासम्म ड्युटी गर्नुपर्ने भएकाले विमानस्थलमा काम गर्न प्रहरीको अनिच्छा देखिएको हो । केही महिनायता विमानस्थल २२ घन्टा सञ्चालन गर्न थालिएको छ । सोही कारण प्रहरीले निरन्तर १५ घन्टासम्म ड्युटी गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

विमानस्थलमा ड्युटी समय बढे पनि प्रहरीको जनशक्ति नबढेकाले समस्या भएको महानगरीय विमानस्थल प्रहरी कार्यालयका डिआइजी जिटीले बताए । ‘धेरै समय काममा लगाउँदा प्रहरी थाक्ने अवस्था छ,’ उनले भने, ‘यसले प्रहरीको कामको गुणस्तरमा पनि चिन्ता बढाएको छ ।’

प्रतिक्रिया