शिक्षा अब अनिवार्य होइन, बाध्यात्मक हुनेछ : मन्त्री पोखरेल
शिक्षाखबर डेस्क
१७ आश्विन २०७५, बुधबार
no immg

सिरहा/शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई अनिवार्य नभई बाध्यात्मक बनाइने तयारी भइरहेको बताउनु भएको छ । उहाँले शिक्षालाई अनिवार्य भनिएता पनि धेरै बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर रहेकोले अब शिक्षालाई अनिवार्य नभई बाध्यात्मक बनाइने तयारी भइरहेको बताउनुभयो । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले आफ्ना बालबालिकालाई विद्यालय अध्ययन गर्न नपठाउने अविभावकहरुलाई सामाजिक सुरक्षा भत्तादेखि लिएर राज्यले दिने हरेक सुबिधादेखि वञ्चित बनाइने समेत चेतावनी दिनुभयो । शिक्षालाई अनिवार्य बनाएता पनि २०७४ को चैत मसान्तसम्म देशभरिमा ३ लाख ७३ हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेको उल्लेख गर्दै उहाँले बैशाख १ गतेदेखि सुरु गरेको भर्ना अभियानको पहिलो हप्तामै २ लाख ५३ हजार विद्यार्थी विद्यालय जान थालेको जानकारी दिनुभयो । ‘सामुदायिक विद्यालयको गुणस्तरियता निकै कम छ’ उहाँले भन्नुभयो, ‘त्यसलाई सुधार्न संघीय मन्त्रालयबाटै २२ बुँदे सुधार कार्यक्रम निर्धारण गरेर सम्पूर्ण स्थानीय तहमा पठाइसकेका छौं ।’ समृद्ध राष्ट बनाउन बाटोघाटो र भौतिक निर्माणको कुरा गरेर मात्र नहुने बताउँदै उहाँले समृद्ध राष्ट्र बनाउन शिक्षा, स्वास्थ्य र वातावरणीय संरक्षण पनि आवश्यक रहेको बताउनुभयो । ‘सामुदायिक विद्यालयले समेत आफूले प्रदान गर्ने शिक्षामा प्रविधि र विज्ञान भित्र्याउन आवश्यक छ’ उहाँले भन्नुभयो, ‘श्रमलाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्ने हाम्रो शिक्षा पद्धति हुनुपर्छ ।’ यसअघि मन्त्री पोखरेलले लहान नगरपालिका ५ मा निर्मित विलट साह रौनियार जनसेव होमियोपैथिक अस्पताल आर्युवेद अस्पतालको उद्घाटन गर्नुभयो । मंगलबार नै मन्त्री पोखरेलले धनगढीमाई नगरपालिकाद्वारा सञ्चालित जयगोविन्द साह स्मृति पुस्तकालयको अवलोकन गरेका थिए ।

प्रतिक्रिया