स्थानीय तहका शिक्षा शाखा प्रमुखविहीन
शिक्षाखबर डेस्क
१८ आश्विन २०७५, बिहीबार
no immg

रसुवा/सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा रसुवाका अधिकांश स्थानीय तहका शिक्षा शाखा प्रमुखविहीन बनेका छन् । स्थानीय सरकार गठन भएको एक वर्ष बितिसक्दा पनि अधिकांश स्थानीय तहले शिक्षा शाखा प्रमुख पाएका छैनन् । जिल्लाका पाँच गाउँपालिकामध्ये चारमा अझै शिक्षा शाखा प्रमुखको कुर्सी खाली छ । यसले शिक्षासम्बन्धी काम गर्न असहज भएको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ ।

स्रोतव्यक्तिको भरमा शिक्षा शाखा
आमाछोदिङमो गाउँपालिकामा एकजना शाखा अधिकृत छन् । गाउँपालिकामा एकजना शाखा अधिकृत र एकजना प्राविधिक सहायकको दरबन्दी रहे पनि लामो समयदेखि पदपूर्ति हुन सकेको छैन । दरबन्दी पदपूर्ति नहुँदा शिक्षासम्बन्धी कामकाज गर्न समस्या भइरहेको नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामाले बताइन् । उनले भनिन्, ‘स्रोतव्यक्तिले सबै कुरा जानेको हुँदैन । फिल्डमा गएर काम गर्ने उहाँहरूलाई प्रशासनिक कामको ज्ञान हुँदैन । यसले धेरै समस्या भएको छ ।’

कार्यान्वयन भएन संवैधानिक व्यवस्था
संविधानले आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पिएको छ । तर, शिक्षाका दरबन्दीमा पदपूर्ति नहुँदा समस्या भएको छ । संविधानको व्यवस्थासँगै गाउँपालिकाको गाउँ शिक्षा शाखामा साबिकमा विद्यालय निरीक्षकको जिम्मेवारीमा रहेका शिक्षाका अधिकृतलाई नै शिक्षा शाखा प्रमुखका रूपमा खटाइएको थियो ।

तर, शिक्षा अधिकारी नहुँदा शिक्षा कार्यक्रम, नीति निर्माण, विद्यालयको व्यवस्थापन, अनुगमन र निरीक्षणको काम प्रभावित भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ रसुवाले स्थानीय तह शिक्षा शाखा प्रमुखविहीन बन्दा शिक्षा नियमावली बनाउने, विद्यालय मर्ज गर्ने र शिक्षा बजेट खर्च गर्न नसकिने अवस्था रहेको बतायो ।

रसुवाका ४ तहमा छैनन् शिक्षा प्रमुख
जिल्लाका ४ वटा स्थानीय तहमा शिक्षाका निजामती कर्मचारी नभएको शिक्षा विकास तथा समन्वय एकाइ रसुवाका प्रमुख बालकृष्ण सिंखडाले बताए । स्रोतव्यक्तिले नै हाल ती स्थानीय तहमा शिक्षा शाखा सम्हालिरहेका छन् । कर्मचारी पदपूर्ति नहुँदासम्म स्रोतव्यक्तिलाई शिक्षा शाखाको जिम्मेवारी दिइएको सिम्खडाले बताए । शिक्षकबाट काजमा रहेका स्रोतव्यक्ति यसअघि विभिन्न क्षेत्रमा खटाइएका थिए । ती स्रोतव्यक्तिले नै अहिले स्थानीय तहका शाखाको जिम्मा पाएका हुन् ।

प्रतिक्रिया