अनलाइन प्रणालीले झन् सास्ती
शिक्षाखबर डेस्क
१८ आश्विन २०७५, बिहीबार
no immg

दोलखा/मालपोत कार्यालय दोलखाले अनलाइन प्रणाली सुरु गरेपछि सेवाग्राहीले झन् सास्ती पाएका छन् । कार्यालयले इन्टरनेट र जनशक्ति व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले सास्ती पाएका हुन् । कार्यालयको इन्टरनेट राम्रो नचल्दा जग्गासमन्बन्धी सामान्य काम गर्नसमेत दुई–तीन दिनसम्म लाग्ने गरेको छ ।

कार्यालयमा पर्याप्त कर्मचारीसमेत छैनन् । यसले पनि सेवाग्राहीलाई झन् सास्ती हुने गरेको छ । समयमै काम नहुँदा सेवाग्राही घन्टौँ लाइन बस्न बाध्य छन् । कार्यालयले सुरु गरेको भूमि अभिलेख तथा सूचना व्यवस्थापन प्रणाली भरपर्दो नहुँदा दैनिक सयौँको संख्यामा कार्यालय पुग्ने सेवाग्राही मर्कामा परेका हुन् ।

सामान्य काम  गर्न तीन दिन
तामाकोसी गाउँपालिका–१ भिरकोटकी अम्बिका काफ्लेले जग्गा रोक्का सम्बन्धी सामान्य कामका लागि दुई दिनसम्म मालपोत धाउनुपरेको बताइन् । भीमेश्वर नगरपालिका–२ पाखलतीकी कल्याणी श्रेष्ठले रोक्का भएको जग्गा फुकुवा गर्न दुई दिन धाउनु परेको गुनासो गरिन् । ‘बिहीबार कार्यालय आएकी थिएँ, तर दिनभर पर्खिंदा पनि इन्टरनेटले काम गरेन भन्दै फर्काए,’ उनले भनिन्, ‘शुक्रबार १० बजे नै कार्यालय पुगेकी थिएँ, साँझ मात्रै काम भयो ।’

अम्बिका र कल्याणी प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरूजस्ता धेरैले सास्ती पाउने गरेका छन् । १८ भदौदेखि मालपोत कार्यालयले अनलाइन सेवा सुरु गरेको हो । कार्यालयमा दैनिक एक सयभन्दा बढी सेवाग्राही जग्गासम्बन्धी विभिन्न काम लिएर जाने गर्छन् । सेवाग्राहीलाई जग्गासम्बन्धी काम गर्न पनि दुईदेखि तीन दिनसम्म लाग्ने गरेको छ । यसले सेवाग्राहीको समय र खर्च दुवै बढेको छ ।

प्रतिक्रिया