फोहोर सफा नगरेको भन्दै दलित विद्यार्थी निष्कासित
शिक्षाखबर डेस्क
१९ आश्विन २०७५, शुक्रबार
no immg

विद्यालय परिसरमा थुप्रिएको फोहोर सफा नगरेको भन्दै महोत्तरीमा एक विद्यार्थीलाई स्कुलबाटै निकालिएको छ । भँगहा नगरपालिका– ९ हरिनमरीस्थित जनता माविमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीय मुकेश मल्लिकलाई निष्कासन गरिएको हो । सो नगरपालिका शिक्षामन्त्री गिरिराजमणि पोखरेलको क्षेत्र हो ।

स्कुलमै किरिया भोज

गत १० असोजमा विद्यालयकै लेखापाल राकेश यादवकी हजुरआमाको किरिया भोज विद्यालय परिसरमै गरिएको थियो । दलित समुदाय (डोम) कै भएका कारण प्रधानाध्यापक मनोहरप्रसाद यादवले भोजमा निस्केको फोहोर सफा गर्न आफूलाई अह्राएको मल्लिकले बताए । ‘मेरो दाजुलाई पनि तीन वर्षअघि दलित भएकै निहुँमा प्रधानाध्यापकले विद्यालयबाट निकाले, अहिले मलाई पनि त्यसै गरे,’ मल्लिकले भने ।

अनुशासित बनाउन कडाइ

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख शत्रुधन यादवले आफूले भंगहाका स्रोेतव्यक्ति विद्यालय पठाएर सबै कुरा बुझेको जानकारी दिए । उनले ती छात्रलाई दलित भएर नभई विद्यालयमा अनुशासित बनाउन प्रधानाध्यापकले कडाइ मात्र गर्न खोजेको स्रोतव्यक्तिले गरेको अनुसन्धानमा खुलेको बताए ।

फोहोर विद्यालय परिसर सबै विद्यार्थीले सफा गरिरहँदा मुकेश कक्षाकोठाबाट बाहिर नआएपछि प्रधानाध्यापकले सबैले सफाइ गरिरहेको र तिमी एकजना मात्र कक्षामा बस्दा अन्यले समेत सफाइ नगर्ने भन्दै रिसाएकोमा त्यसैलाई बंग्याइएको यादवको भनाइ छ ।

विद्यालयमा अन्य दलित बालबालिकासमेत अध्ययन गरिरहेकाले दलित भएकै निहुँमा मल्लिकले सजाय भोग्नुपरेको भन्नु सही नहुने एकाइ प्रमुख यादवले बताए । ‘बच्चालाई विद्यालयबाट निकालिएकै छैन, उसलाई अनुशासित बनाउने प्रयास मात्र भएको छ,’ उनले भने ।

विद्यार्थीमाथि अन्याय

भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले आफू छात्र मल्लिकको घरमै पुगेको र उनीमाथि अन्याय नै भएको देखिएको बताए । दलित भएकैले हेला गर्ने, विभिन्न कुरामा हेप्ने प्रवृत्तिलाई प्रश्रय दिन नमिल्नै भन्दै उनले दोषी देखिए प्रधानाध्यापकमाथि कारबाही हुने जानकारी दिए ।

प्रमुख साहले विद्यालयमा कुनै किसिमका भोजभतेर नगर्न भनिएको र बारम्बार प्रधानाध्यापकलाई आग्रह गर्दा पनि नमानेकाले उनीमाथि कारबाही हुन सक्ने बताए । ‘विद्यालयमा ठूलाबडाले खाएको जुठो विद्यार्थीलाई सफा गराउनु गलत हो, यदि त्यस्तो भेटिएमा सम्बन्धित व्यक्ति कारबाहीको दायरामा पर्छन्,’ उनले भने ।

प्रतिक्रिया