काठमाडौं नेसनललाई तीन सय शय्याको अस्पताल सञ्चालन स्वीकृति
शिक्षाखबर डेस्क
१९ आश्विन २०७५, शुक्रबार
no immg

उच्चस्तरीय अनुगमन समितिको रायविपरीत स्वास्थ्यसचिव डा.पुष्पा चौधरीले विवादित काठमाडाै‌ नेसनल मेडिकल कलेजलाई अस्पताल सञ्चालन स्वीकृति दिएकी छन् । समितिले दिएको राय–सुझाबविरुद्ध सचिव चौधरीले चोरबाटोबाट मापदण्डविपरीत नेसनल मेडिकल कलेज (घट्टेकुलोको हाउजिङ) लाई तीन सय शय्याको अस्पताल सञ्चालन स्वीकृति दिएकी हुन् ।

गत २५ भदौमा सम्बन्धन दिने प्रयास असफल भएपछि उनले पुनः फाइल अगाडि बढाई मंगलबार साँझ घुमाउरो भाषामा स्वीकृति दिएकी थिइन् । सचिव चौधरीले गरेको गोप्य निर्णय २४ घन्टा बित्न नपाउँदै बाहिरिएपछि सो फाइल गायब पारिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी औषधि व्यवस्थापक संगीता साह र प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकु-यालको रायविपरीत सचिव चौधरीले क्रमशः अपुग मापदण्ड पूरा गर्ने सर्तमा तीन सय शैयाको स्वीकृति गरेको पाइएको छ ।

मन्त्रालयकै कर्मचारी चकित
मन्त्रालयले नै गठन गरेको उच्चस्तरीय अनुगमन समितिले २५ शैयासमेत सञ्चालन हुन नसक्ने भनी दिएको रायविपरीत जबर्जस्ती तीन सय शैया सञ्चालन स्वीकृति दिनुले चकित बनाएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकु-यालका अनुसार सो कलेजलाई २५ शय्याको सञ्चालन अनुमतिसमेत दिन मिल्दैन । स्वीकृत दिएको २४ घन्टा नपुग्दै विवाद आएपछि उनले निर्णयलाई ढाकछोप गर्न कुनै निर्णय नभएको भन्दै मन्त्रालयका कर्मचारीलाई आधिकारिक विज्ञप्ति जारी गर्न लगाएकी छन् ।

मन्त्रालय स्रोतका अनुसार बुधबार राति नै काठमाडाै‌ नेसनल मेडिकल कलेजका नाममा पत्र पठाएको रेकर्ड छ । ‘तर, चिठीमा के लेखिएको छ ? कसैलाई जानकारी छैन । सचिव चौधरीले दोस्रोपटकको प्रयासमा स्वीकृति दिएकी हुन्,’ एक उच्च अधिकारीले भने, ‘मिडियामा कुरा आएपछि उहाँ टिप्पणी बाहिरिने भन्दै हतास देखिनुभयो, केही कर्मचारीले सचिवलाई सम्झायौँ र स्वीकृति दिएको होइन भन्ने भ्रम छर्न विज्ञप्ति निकालौँ भन्ने सहमति भएअनुसार मापदण्ड पूरा गर्न भनेर पत्र पठाएको हो ।’ ती कर्मचारीका अनुसार केही दिन स्वीकृत भएको चिठी रोकिन सक्छ ।

प्रतिक्रिया