आइजिपी बर्खास्त गर्न सत्तारूढ दलका विद्यार्थी संगठनको माग
शिक्षाखबर डेस्क
१९ आश्विन २०७५, शुक्रबार
no immg

सत्तारूढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बर्खास्त गर्न माग गरेका छन् । बिहीबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै दुवै संगठनका नेतृत्वले आइजिपी खनाललाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् । उनीहरूले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने प्रहरीहरूलाई कारबाही गर्न पनि माग गरेका छन् ।

प्रहरी संगठनको जिम्मेवारी सम्हाले पनि खनालले निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको भन्दै सत्तारूढ दलका विद्यार्थी संगठनले खनालको बर्खास्तगीको माग गरेका हुन् । अनेरास्ववियु अध्यक्ष नवीना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले हस्ताक्षर गरी बुझाएको ज्ञापनपत्रमा निर्मला हत्याकाण्ड छानबिन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नसमेत माग गरिएको छ ।

जवाफमा गृहमन्त्री थापाले निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न आफू प्रतिबद्ध रहेको बताए । हत्यारा अझै पत्ता लाग्न नसकेकामा सरकार चिन्तित रहेकोे भन्दै थापाले सरकारले सबै प्रयत्न गरिरहेको बताएका थिए ।

भाडा वृद्धि फिर्ता लिन माग
नेकपाका विद्यार्थी संगठनले यातायातमा बढाइएको १० प्रतिशत भाडा तत्काल फिर्ता लिन माग गरेका छन् । जनतालाई मारमा पार्ने गरी भाडा बडाइएको भन्दै उनीहरूले फिर्ता सरकारको ध्यानाकर्षण गराएका छन् । भेटमा महँगी नियन्त्रणका लागि अनुगमनमा तीव्रता दिन पनि ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया