भ्रष्टाचार मुद्दामा मेडिकल सुपरिटेन्डेन्टसहित चारजनालाई सफाइ
शिक्षाखबर डेस्क
१९ आश्विन २०७५, शुक्रबार
no immg

विशेष अदालतले भ्रष्टाचार मुद्दामा भेरी अञ्चल अस्पताल बाँकेका निमित्त मेडिकल सुपरिटेन्डेन्टसहित चारजनालाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी र नारायणप्रसाद पोखरेलको इजलासले भेरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पीताम्बर सुवेदी, शाखा अधिकृत माधवप्रसाद ज्ञवाली, लेखापाल मणिराम बर्मा र लेखा अधिकृत पदमबहादुर जिसीलाई अस्पतालको अनियमितता मुद्दामा सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २६ भदौ २०७३ मा डा.सुवेदीसहित चारजनालाई भेरी अञ्चल अस्पतालको आमा सुरक्षा कार्यक्रम तथा सामाजिक सुरक्षा एकाइलगायत अन्य विभिन्न कार्यक्रमको बजेट दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपपत्र दायर गरेको थियो । सुवेदीले औषधिमा अनियमितता गरेको, सर्जिकल उपकरण, मसलन्द, मेसिनरी औजार खरिद गरी अस्पताल तथा विकास समितिको रकम हिनामिना गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

अख्तियारले सुवेदीलाई ४२ हजार ९० लाख आठ सय १६ रुपैयाँ, लेखापाल बर्मालाई ४२ लाख तीन हजार आठ सय १६, लेखा अधिकृत जिसीलाई ८७ हजार र शाखा अधिकृत (स्टोर किपर) ज्ञवालीसँग २१ लाख दुई हजार एक सय ५२ रुपैयाँ बिगोदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया