सुत्केरीको उद्धारमा घरआँगन
शिक्षाखबर डेस्क
२३ आश्विन २०७५, मंगलवार
no immg

सुत्केरी व्यथा लागेर उपचार नपाएका ग्रामीण भेगका महिलालाई हेलिकोप्टरको सहयोगमा घरआँगन नेपाल नामक संस्थाले उद्धार गर्ने भएको छ । आर्थिक अभावका कारण उपचार गर्न नपाएका सुत्केरी आमाहरूको सो संस्थाले अनौपचारिक रूपमा हेलिकोप्टरबाट उद्धार गर्दै आएको थियो ।

सोमबार पत्रकारसम्मेलन गर्दै संस्थाले औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएको जनाएको हो । आर्थिक अभावले छटपटाइरहेका सुत्केरी आमाहरूलाई संस्थाको खर्चमा देशका विभिन्न ठाउँमा लगिनेछ ।

घरआँगन नेपालका संस्थापक दीपक सिलवालले ग्रामीण भेगका महिलाको दुःखमा केही मलम लगाउन संस्थाको स्थापना गरेको बताए । सो संस्थालाई डा. भोला रिजालले ५६ हजार रुपैयाँ नगद सहयोग गरेका छन् । रुकमांगत कटवाल, कलाकार दीपाश्री निरौला, जितु नेपाललगायतले पनि आर्थिक सहायता गरेका छन् ।

संस्थाले पहिलोपटक सिन्धुपाल्चोकबाट सुत्केरीको उद्धार गरेको थियो । सन्तमाया तामाङ र सीता जोगीले आफूहरूलाई नयाँ जीवन दिएकोमा संस्था र संस्थाका संयोजक सिलवाललाई धन्यवाद दिए । डा. भोला रिजालले दीपकको साहस र काम अतुलनीय भएकाले उनको सामाजिक कार्यमा सहयोग गर्नसमेत आग्रह गरे ।

कलाकार दीपाश्री निरौलाले आमा–बच्चाको ज्यान जोगाउने महान् काम गरेको भन्दै सिलवाललाई ‘ज्याद्रो भगवान्’को संज्ञा दिइन् । उनले आउँदै गरेको नेपाली फिल्म ‘छक्का पन्जा ३’को नामबाट नगद १ लाख ६ हजार रुपैयाँ सहयोगको घोषणा गरिन् । यस्तै, पाथीभरा ऋण तथा सहकारी संस्थाले सहयोगस्वरूप १ लाख ५ हजार ५ सयको चेक हस्तान्तरण ग-यो ।

सामाजिक कार्यका लागि ६ वर्षअगाडि स्थापना भएको घरआँगनले ग्रामीण भेगका गरिब, विपन्न वर्गका सुत्केरी महिलाको उपचारका लागि उद्धार गर्दै आएको छ । सिलवालले अबदेखि काठमाडौं, लुक्ला र पोखरामा उद्धारका लागि तीनवटा हेलिकोप्टर तयार रहने बताए ।

प्रतिक्रिया