टनेलको तरकारीखेतीले दोब्बर आम्दानी
शिक्षाखबर डेस्क
२४ आश्विन २०७५, बुधबार
no immg

धनकुटा : धनकुटाको चौबिसे गाउँपालिकाको मेघे टोलका लालमान बान्तावा र डम्बर बान्तवाले सामूहिकरूपमा बनाएका ६ वटा टनेल घरमा गोलभेंडा पाकेर राताम्मै देखिन्छ। लस्करै बनाइएका टनेल घर झट्ट हेर्दा पनि खेती आकर्षित देखिन्छ। करिब एक रोपनी क्षेत्रफलमा बनाइएको टनेल घरमा लगाइएको गोलभेंडा खेतीले यी किसानको आम्दानी सोचोभन्दा धेरै बढी भएको छ।

सोही वडाका बिक्रम लिम्बूले पनि दुईवटा टनेल घरमा गोलभेंडा फलाएर मनग्गे आम्दानी गरेका छन्। चौबिसे गाउँपालिकाको बुधबारेका इन्द्र कार्की र ठमेशकुमार श्रेष्ठले पनि टनेल घरभित्र गोलभेंडा फलाएका छन्। रोजगारीका लागि एक दशकभन्दा बढी खाडी देशमा बिताएका दिपेश लिम्बूले विगत केही वर्षदेखि टनेल घरमा गोलभेंडाखेती गर्दै आएका छन्। टनेल घरभित्र गोलभेंडा फलाएर गतवर्ष सात लाख रुपैयाँ आम्दानी गरेको बताए।

बेमौसममा पनि खेती गर्न सकिने, रोगकीरा लागेको खण्डमा व्यवस्थापन गर्न सहज र दोब्बर उत्पादन हुने भएकाले चौबिसे गाउँपालिका क्षेत्रका किसान पछिल्लो समय टनेल अर्थात् प्लास्टिक घरभित्र तरकारीखेती गर्न थालेका छन्। आर्थिक उपार्जनका हिसाबले फाइदाजनक देखिएकाले यस क्षेत्रमा वर्षाै देखि तरकारीको व्यावसायिक खेती गर्दै आइरहेका किसान अहिले टनेल घरमा गोलभेंडा फलाएर मनग्गे आम्दानी लिइरहेका छन्।

यस क्षेत्रका दुई दर्जनभन्दा बढी किसान अहिले टनेलमा खेती गर्छन्। यो क्षेत्र मौसमका हिसाबले केही चिसो हुने भएकाले टनेल विधिबाट खेती गर्न उपयुक्त हुने किसान बताउँछन्। चौबिसे गाउँपालिका क्षेत्रमा टनेल घरभित्र खेती गर्ने क्रम बढिरहेको छ। यस क्षेत्रका राजारानी, मौनावुधुक, बुधबारेलगायत स्थानका उच्च भेगका किसान टनेल घर बनाएर गोलभेंडाखेती गर्छन्।

अधिकांश किसानले तीन दर्जनभन्दा पनि टनेल घर बनाएका छन् भने कतिपय ठाउँमा सामूहिक खेतीको सुरुवात भएको छ। विशेष गरी सिँचाइ सुविधा नभएका ठाउँमा टनेलभित्र तरकारीखेती सजिलैसँग गर्न सकिन्छ। यस प्रविधिबाट खेती गर्दा बढी मेहनत नपर्ने, रोग तथा कीराको प्रकोप पनि कम र उत्पादन लागत घट्ने किसान डम्बर बान्तवा बताउँछन्। टनेल घरमा गरिएको उत्पादन बाहिरी क्षेत्रमा गरिएभन्दा बढी गुणस्तर हुने र बजार पनि सहजै पाउने भएकाले टनेल घर बनाएर खेती सुरु गरेको उनले बताए।

टनेल घरभित्र खेती गर्न इच्छुक किसानलाई चौबिसे गाउँपालिका कृषि शाखा पनि प्रोत्साहन गरिरहेको छ। त्यस्ता किसानलाई अनुदानमा प्लास्टिक वितरण, खेतीको विधिबारे तालिम र बेला बखत प्राविधिक ज्ञानसमेत उपलब्ध गराइरहेको चौबिसे गाउँपालिका कृषि प्राविधिक वीरेन्द्र तामाङ बताउँछन्। शाखाले गत आर्थिक वर्ष १५ जना किसानलाई ५० प्रतिशत अनुदानमा टनेल प्लास्टिक उपलब्ध गराएको थियो। कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको छ।

थोरै क्षेत्रफलमा पनि टनेल घर बनाउन सकिन्छ। एउटा टनेल घर बनाउन न्यूनतम २५ हजार रुपैयाँ खर्च लाग्छ। तर, उक्त टनेलभित्र गोलभेंडा उत्पादन गरेर डेढ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने किसान बताउँछन्। प्लास्टिकभित्रको तरकारीखेती आर्थिक उपार्जनका हिसाबले फाइदाजनक देखिएको छ। किसानलाई यस प्रविधितर्फ प्रोत्साहन गर्न स्थानीय तहले ध्यान दिनुपर्ने स्थानीय वासिन्दाको भनाइ छ।

प्रतिक्रिया