खसीबोका र च्यांग्राको बिक्री आजबाट
शिक्षाखबर डेस्क
२६ आश्विन २०७५, शुक्रबार
no immg

सरकारले शुक्रबारदेखि काठमाडौं उपत्यकामा खसीबोका तथा च्यांग्राको बिक्री वितरण सुरु गर्ने भएको छ । नेपाल खाद्य संस्थानको थापाथलीस्थित धान गोदामबाट ती खसी, बोका तथा च्यांग्राको बिक्री वितरण गर्न लागेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । उनका अनुसार बिहीबार साँझसम्म १८० खसी बोका तथा ४०० च्यांग्रा काठमाडौं ल्याइसकिएको छ ।

सरकारले दसैँलाई लक्षित गरेर मुस्ताङबाट एक हजार च्यांग्रा खरिद गरी ल्याउने लक्ष्य राखिए पनि करिब ९०० च्यांग्रा ल्याइने उनले बताए । दाङलगायत पश्चिमी जिल्लाबाट खसीबोका ल्याउने तयारी गरे पनि त्यहाँका व्यापारीले कुनै चासो नदेखाएपछि मकवानपुर र पर्साबाट खसीबोका खरिद गरी ल्याइएको महानिर्देशक गौचनले बताए । ‘दाङलगायत पश्चिमी जिल्लाबाट एक हजार खसीबोका ल्याउने लक्ष्य राखेका थियौँ ।

दाङबाट खसीबोका ल्याउन नसकिएपछि मकवानपुर र पर्साबाट लक्ष्यभन्दा आधा करिब ५१० खसी बोका मात्र खरिद गरिएको छ,’ उनले भने । राजधानी ल्याइएका ४०० च्यांग्रामध्ये दुई वटा च्यांग्रा बिरामी परेका छन् । बिरामी परेका च्यांग्रालाई छुट्टै राखेर पशु चिकित्सकले उपचार गरिरहेको महानिर्देशक गौचनले जानकारी दिए । दसैँका वेला खसीबोका तथा च्यांग्राको कारोबार उच्च हुनेगर्छ । व्यापारीले चर्को मूल्य लिएर खसीबोका तथा च्यांग्रा बिक्री गर्दा उपभोक्ता ठगीमा पर्ने गरेका छन् ।

प्रतिक्रिया