दमौली, ३० असोज – तनहुँको व्यास नगरपालिका–३ स्थित पराशर टोलमा निःशुल्क वाइफाई जडान गरिएको छ । वडा कार्यालय र वल्र्डलिङ्क कम्युनिकेशनबीच सम्झौता भई कम्पनीले पाँच वर्षका लागि पराशर टोलमा निःशुल्क रुपमा वाइफाई सेवा उपलव्ध गराएको हो ।
वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठ, सदस्य रविन पौडेल, चौतारा निर्माण समितिका अध्यक्ष सुदीप काफ्ले र कम्पनीका तर्फबाट मनोज मल्लले सोमबार वाइफाईको औपचारिक शुभारम्भ गर्नुभयो । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै चौतारामा विश्राम गर्ने सर्वसाधारणलाई लक्षित गरी निःशुल्क इन्टरनेट जडान गरिएको वडा सदस्य रविन पौडेलले जानकारी दिनुभयो ।
एकै पटक १०० जनाले प्रति व्यक्ति दुई एमबीपीएस डाटा बराबरको इन्टरनेट प्रयोग गर्न पाउने गरी वाइफाईको व्यवस्था गरिएको वल्र्डलिङ्कका दमौली शाखा प्रमुख मनोज मल्लले बताउनुभयो । लगातार एक घण्टा प्रयोगपछि भने इन्टरनेट पुन कनेक्ट गर्नुपर्नेछ । वल्र्डलिङ्ककै ग्राहकले भने आफ्नै युजर प्रयोग गरी लगातार प्रयोग गर्न सक्ने उहाँले जानकारी दिनुभयो ।चौतारा निर्माण समितिको आग्रहमा वल्र्डलिङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क रुपमा वाइफाईको व्यवस्था गरेको समितिका अध्यक्ष सुदीप काफ्लेले बताउनुभयो ।
निर्माण हुन लागेको तीन सय २५ फुट लम्बाईको अपाङ्गमैत्री चौतारा सम्भवत देशकै पहिलो हुन सक्ने भन्दै अध्यक्ष काफ्लेले चौतारालाई नमूना बनाउने अभियानअन्र्तगत समितिको आग्रहमा कैलाश बैंकले बत्ती र वल्र्डलिङ्कले इन्टरनेट जडान गरिदिएको जानकारी दिनुभयो । सो क्षेत्रलाई रात्रिकालीन पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्ने दीर्घकालीन लक्ष्य वडाले लिएको छ ।