महाधिवेशन गर्न नसकी समय सकिन लागेको नेविसंघको विषयमा के गर्ने भन्ने विषयमा छलफल गर्न कांग्रेसले शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । निर्धारित समयमा १२औँ महाधिवेशन गर्न नसकेपछि आगामी २ मंसिरबाट नेविसंघको थपिएको समय पनि सकिँदै छ ।
म्याद थप्ने कि टिके नेतृत्व ल्याउने
३२ वर्षे उमेरहद कायम गर्ने गरी नेविसंघले विधान पार्टीलाई बुझाएको थियो । कांग्रेसले आफ्नै हिसाबले महाधिवेशन गर्न भनेपछि नेविसंघको महाधिवेशन अन्योलमा परेको छ । यही अन्योलबीच नेविसंघको महाधिवेशन के गर्ने भन्ने विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बस्न
लागेको हो ।
कांग्रेसमा पौडेल र सिटौला पक्ष विधानले नदिए पनि पार्टीले समय दिएर भए पनि ६ महिनाभित्र महाधिवेशन गर्नैपर्ने गरी अहिलेको नेतृत्वलाई एकपटक मौका दिनुपर्ने अडानमा छन् । पछिल्लो समय यो पक्षको मतमा संस्थापन पक्ष पनि नरम देखिएको कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले बताउँछन् । ‘अहिलेसम्म टिके नेतृत्व ल्याउनेभन्दा समय थप गरेर भए पनि महाधिवेशन गर्नुपर्छ भन्ने मत धेरै देखिएको छ,’ उनले भने, ‘केही दिनअघि रामचन्द्र दाइहरूको छलफलमा पनि यो विषय उठेको थियो ।’
नेविसंघ, महासमिति र महाधिवेशनबारे छलफल गर्दै कांग्रेसका युवा नेताहरू
कांग्रेसका करिब एक दर्जन युवा नेताहरूले नेविसंघका बारेमा छलफल गर्न बस्न लागेको केन्द्रीय समितिको बैठक, आगामी महासमिति बैठक र १४औँ महाधिवेशनको नेतृत्वका विषयमा छलफल चलाउने भएका छन् । बुधबार युवा नेताहरूले काठमाडौंमा एक भेला गरी संक्षिप्त छलफल गरेका थिए । शुक्रबार पनि महासमितिमा यसअघि केन्द्रीय समितिमा प्रस्तुत गरेको पार्टी सुधारको कार्ययोजनालाई थप प्रभावकारी बनाएर प्रस्तुत गर्ने तयारी युवा नेताहरूको छ । साथै, १४औँ महाधिवेशनमा कसरी प्रभावकारी नेतृत्व स्थापित गर्ने भन्नेमा युवा नेताहरूले अब बहस चलाउने केन्द्रीय सदस्य घिमिरेले जानकारी दिए ।
‘हामी १४औँ महाधिवेशनमा कसरी प्रभावकारी नेतृत्व ल्याउने भन्नेमा पनि छलफल गर्दै छौँ,’ घिमिरेले भने, ‘अहिले नेतृत्वका लागि दाबेदारी गरिरहेका नेताहरूबारे पछि समीक्षा गर्नेछौँ ।’ शुक्रबार सिद्धार्थ फुडल्यान्ड तीनकुनेमा नेविसंघको अन्योलपूर्ण महाधिवेशनको विषयमा पनि छलफल हुने उनले जानकारी दिए ।
कांग्रेसको यो अभियानमा चन्द्र भण्डारी, गगन थापा, गुरु घिमिरे, बद्री पाण्डे, प्रदीप पौडेल, धनराज गुरुङ, किरण यादव, रामकृष्ण यादव, जीवन परियार, कल्याण गुरुङ सहभागी छन् । यसअघि केन्द्रीय समितिमा युवा नेताहरूले पार्टी सुधारका लागि ५० पृष्ठको कार्ययोजना प्रस्तुत गरेका थिए । यही प्रस्तावलाई थप परिमार्जन गरी आगामी महासमिति बैठकमा प्रस्तुत गर्ने तयारी युवा नेताहरूको छ ।