सेवा सरकारी अस्पतालहरुको
शिक्षाखबर डेस्क
१ मंसिर २०७५, शनिबार
no immg

काठमान्डौ/मुलुकमा पछिल्लो समय निजीस्तरमा दर्जनौँ अस्पताल र मेडिकल कलेज खुलेका छन् । तर, त्यही अनुपातमा सरकारी अस्पताल भने खुलेका छैनन् । निजी क्षेत्रबाट खुलेका अस्पताल र मेडिकल कलेज सहरी क्षेत्रमा मात्र सञ्चालन भएकाले अझै पनि ग्रामीण क्षेत्रका जनता गुणस्तरीय उपचार सेवा पाउनबाट वञ्चित छन् ।

मुलुकको केन्द्रीय राजधानी काठमाडौंमा रहेका आधा दर्जन सरकारी र अर्धसरकारी अस्पतालले विभिन्न जिल्लाबाट आउने विपन्न वर्गका बिरामीको चाप धानिरहेको छ । त्यस्ता अस्पतालमा वीर, त्रिवि शिक्षण, सिभिल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, परोपकार प्रसूतिगृह, कान्ति बाल र पाटन अस्पताल छन् । काठमाडौं उपत्यकामा रहेका यस्ता अस्पतालले दिने सेवा फरक–फरक छ । विगतमा भन्दा अहिले यी सरकारी अस्पतालले दिने उपचार सेवा भरपर्दो र गुणस्तरीय रहेको सर्वसाधारणको भनाइ छ ।

सरकारी अस्पतालहरूले प्रसूति, मुटुरोग, आँखा, मानसिक, बोनम्यारो, अर्थोपेडिक्स, कलेजो, फोक्सो, प्याथोलोजी, नाक कान घाँटी, क्यान्सरजस्ता रोगको उपचार गर्दै आएका छन् । विशेषगरी विपन्न र मध्यम आय भएका नेपाली जनताले उपचार गराउने यी सरकारी अस्पतालले के, कसरी, कस्ता उपकरणबाट उपचार गराउँदै आएका छन् त ? अर्जुन पौडेल र अर्जुन अधिकारीको रिपोर्ट :

वीर अस्पताल

वीर अस्पतालमा पछिल्लो केही वर्षयता बिरामीको चाप बढेको छ । दैनिक दुई हजार पाँच सय बिरामीले सेवा लिँदै आएका छन् । विशेषज्ञ डाक्टरहरूबाट न्यून शुल्कमा उपचार सेवा पाइने भएकाले निम्न आय भएका नागरिक वीरमा पुग्छन् ।

१ सय २९ वर्षअघि ५ शय्याबाट सुरु भएको अस्पतालमा अहिले ३ सय ८० शय्या छन् । भूकम्पले क्षति पु-याएपछि शय्या घटेका हुन् । ०७२ को भूकम्पअघि ४ सय ८६ शय्या थिए । वीर अस्पताललाई एपेक्स विश्वविद्यालयका रूपमा विकास गरी सातै प्रदेशमा सेवा विस्तार गर्ने लक्ष्य छ ।

बच्चा र प्रसूतिबाहेक सबै प्रकारका उपचार

‘हामीले बच्चा र प्रसूतिबाहेकका सबै प्रकारका उपचार सेवा दिइरहेका छौँ,’ अस्पतालका निमित्त निर्देशक प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले भने, ‘हाल वीर अस्पतालले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा दिइरहेको छ । हामीले बिरामीको चाप थेग्न सकेका छैनौँ । सबै प्रदेशमा सेवा विस्तार गर्न नसके समस्या पर्छ ।’

मानसिक रोगीको उपचार हप्तामा दुई दिन
वीरमा मानसिक रोगीको उपचार पनि हुन्छ । तर, नियमति छैन । हप्तामा दुई दिन मानसिक रोगीको उपचार गर्ने गरेको निमित्त निर्देशक बस्नेतले बताए । वीर यो सेवालाई नियमित गर्ने तयारीमा रहेको उनको भनाइ छ ।

के–के सेवा निःशुल्क ?
सरकारले उपचार सहायताका लागि तय गरेका बिरामीहरूको स्वास्थ्य उपचारमा वीरले निःशुल्क सेवा दिँदै आएको छ । अस्पतालले मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेलका बिरामीलाई निःशुल्क उपचार दिँदै आएको छ । निमित्त निर्देशक बस्नेतले गत वर्ष सरकारले निःशुल्क उपचारका लागि दिएको ५ करोडमा अस्पतालले ५ करोड थपेर १० करोडको निःशुल्क सेवा दिएको बताए ।

फोक्सोका रोगीको विशेष जाँच गर्ने प्रविधि वीरमा मात्रै
अप्रेसन गर्नुपर्ने फोक्सोका रोगीलाई विशेष जाँच गर्ने प्रविधि वीर अस्पतालमा मात्रै छ । खानानलीको प्रेसर जाँच, युरो, इएनटी, छालाको नयाँ लेजर पद्धतिबाट उपचार, टोकनबाट टिकट वितरण वीरका सेवा हुन् । रिफर भएर आएका बिरामीलाई छुट्टै विशेषज्ञ टिकट दिएर थप उपचार गर्छ । बाथरोग र हेमाटोलोजी सेवा, चौबिसै घन्टा फार्मेसी सञ्चालन र डायलाइसिस सेवा पनि वीरमा छ ।

कलेजो मापन गर्ने यन्त्र सरकारी अस्पतालमा वीरमा मात्रै
सरकारी अस्पतालमै पहिलोपटक वीरमा कलोजो मापन गर्ने फाइब्रो स्क्यान यन्त्र जडान गरिएको छ । यस्तै, एचआइभी, हेपाटाइटिस बी र सीका बिरामीको छुट्टाछुट्टै डायलाइसिस हुन्छ । मिर्गौलाको ढुंगा फुटाएर निकाल्ने प्रविधि पनि वीरमा छ ।

शिक्षण अस्पताल

एउटै छानामुनि सबै रोगको उपचार हुने एक मात्र सरकारी अस्पताल
‘हामीले सबै रोगको उपचार सेवा सञ्चालन गर्दै आएका छौँ । सिटिस्क्यान, एमआरआईलगायत सबै आवश्यक उपकरण पनि सञ्चालनमा छन् । नागरिकलाई गुणस्तरीय सेवा दिने सवालमा सम्झौता गरेका छैनौँ । तर, आर्थिक रूपमा समस्या छ,’ निर्देशक मन्दिरा वन्तले भनिन् । ०४० मा स्थापना भएको त्रिवि शिक्षण अस्पतालमा सुरुमै ३ सय १ शय्या थियो । अहिले ७ सय शय्या छ । शिक्षण अस्पतालले सबै रोगको उपचार सेवा दिन्छ । त्यसैले बिरामीको चाप पनि बढी छ । प्रत्येक दिन २ हजार बिरामी सेवा लिन आउँछन् । २४सै घन्टा अल्ट्रासाउन्ड सेवा छ ।

अस्पतालका ५२ आइसियूमध्ये ११ वटा आकस्मिक छन् । भेन्टिलेटरसहितका ११ बेड छन् । तर, बिरामीको चापअनुसार यो संख्या कम भएको चिकित्सकहरू बताउँछन् । आपतकालीन अवस्थामा १५ वटासम्म भेन्टिलेटर प्रयोग गर्न सकिन्छ । अस्पताल निर्देशक मन्दिरा वन्तले सिटिस्क्यान, एमआरआईलगायत सबै आवश्यक उपकरण सञ्चालनमा रहेको बताइन् । हालै तीनवटा मोडुलर अप्रेसन थियटर सञ्चालनमा ल्याइएको छ ।

तर, बजेटको संकटले सेवालाई जटिल बनाउँदै लगेको अस्पतालका लेखाप्रमुख शशि थापा बताउँछन् । डाक्टर तथा कर्मचारीको तलबभत्ताका लागि त्रिभुवन विश्वविद्यालयमा संख्या गनेर पठाउने अस्पतालले आफ्नो कमाई पूर्वाधारदेखि स्वास्थ्य सेवामा खर्च गरेको छ । यस वर्ष त्रिविले २९ करोड बजेट दिएको छ । तर, तलबभत्तामा मात्रै १ अर्ब खर्च उठ्ने उनले बताए । ८ सय अस्थायी कर्मचारीको तलबभत्ताको व्यवस्था अस्पतालले नै गर्ने गरेको छ ।

पहिलोपटक कलेजो प्रत्यारोपण गर्दै
शिक्षण अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण गर्दै छ । यसका लागि आवश्यक पूर्वाधार पूरा भइसकेको छ । जनशक्ति पनि तयारी अवस्थामा छन् । तर, सरकारको अनुमति कुरेर बसेको छ ।

अर्थोपेडिक्सका लागि ७० शय्याको तयारी
अर्थोपेडिक्सका लागि ७० शय्या सञ्चालनमा ल्याउने तयारी छ । तर, कर्मचारीको कमीका कारण सञ्चालन हुन सकेको छैन । यस्तै, मिर्गौला प्रत्यारोपण सेवा पनि विस्तार गर्ने भएको छ ।

सिभिल अस्पताल

बोनम्यारो ट्रान्सप्लान्ट सेवा र मोलिक्युलर ल्याब भएको नेपालकै एक्लो अस्पताल

बिरामी निजामती कर्मचारीलाई सहुलियतमा उपचार दिन मित्रराष्ट्र चीनको सहयोगमा बनेको सिभिल अस्पताल सञ्चालनमा आएको नौ वर्ष भयो । अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीको उपचारमा ४०% र अन्य कर्मचारीलाई ५०% छुट दिने यो अस्पतालमा सर्वसाधारणको पनि घुइँचो लाग्ने गरेको छ । सर्वसाधारणलाई भने कुनै छुट छैन । तर, गुणस्तरीय सेवाले नै मध्यमवर्गीय सर्वसाधारणको आकर्षण बनेको छ ।

१५५ बेडको अस्पतालले बिरामीको चाप थेग्न नसक्दा बिरामी फर्काउनुपर्ने अवस्था रहेको अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले बताए । वार्षिक दुई लाख बिरामीको उपचार गर्ने सिभिलमा नयाँ र पुराना गरी दैनिक औसत ५ सयभन्दा बढी बिरामी आउँछन् । अहिले थप १२० शय्याका लागि नयाँ भवन निर्माण भइरहेको निर्देशक आरसीले बताए ।

आफ्नै आयले खर्च व्यवस्थापन
सिभिल आफ्नै आयबाट नियमित खर्च व्यवस्थापन गर्न सफल छ । ७० करोड वार्षिक खर्च गर्ने अस्पतालले लगभग यो बजेट आन्तरिक व्यवस्थापनबाटै उठाउने गरेको निर्देशक आरसीले बताए । सरकारले दिने अनुदान रकम उपकरण खरिद तथा भौतिक निर्माणमा खर्च हुने गरेको छ । चालू वर्षमा आएको २६ करोड अनुदान उपकरण तथा भौतिक निर्माण र मर्मतमा खर्च गरिने उनले बताए ।

यस्ता छन् सिभिलले दिने महत्वपूर्ण सेवा
–बोनम्यारो ट्रान्सप्लान्ट : सिभिल अस्पताल रक्तक्यान्सर रोगीको उपचारमा अत्यावश्यक बोनम्यारो ट्रान्सप्लान्ट सेवा दिने देशकै एक मात्र अस्पताल हो । सिभिलले यो सेवा सुरु गर्नुअघि नेपाली बिरामी यसका लागि विदेशका अस्पताल गएर लाखौँ खर्चिन बाध्य थिए । सिभिलले अहिलेसम्म ३० बिरामीमा बोनम्यारो ट्रान्सप्लान्ट गरिसकेको छ ।

–घुँडा–जोर्नी फेर्ने : बाथलगायतले घुँडा र तिघ्राको जोर्नी खिएर थला परेका बिरामीको जोर्नी नै फेर्ने सेवा पनि सिभिलले दिन्छ । अस्पतालमा यो सेवा लिन आउनेको संख्या उल्लेख्य छ ।

–मोलिक्युलर ल्याब : परिवारको अघिल्लो पुस्तामा रहेको रोग पछिल्लो पुस्तामा सरे–नसरेको सुरुवाती अवस्थामै पत्ता लगाउन मोलिक्युलर ल्याब आवश्यक पर्छ । यो सेवा पनि देशका अन्य अस्पतालमा नभएको निर्देशक डा. आरसीले बताए ।

पाटन अस्पताल

आफ्नै कमाइले खर्च धानेर बिरामीलाई वार्षिक डेढ करोडको निःशुल्क उपचार

५ सय ८० शय्याको पाटन अस्पतालमा वार्षिक साढे चार लाख बिरामी उपचारका लागि पुग्छन् । निजीमा महँगो शुल्क तिर्न नसक्ने अधिकांश मध्यमवर्गीयको रोजाइमा पाटन अस्पताल पर्ने गरेको छ । औसत करिब १३ सय बिरामीलाई सेवा दिने पाटनको वार्षिक बजेट झन्डै एक अर्बको छ । यो बजेटअनुसार सेवासुविधाका कार्यक्रम बनाउने अस्पताल कहिल्यै घाटामा छैन । बरु, आफ्नै कमाइले १२ सय डाक्टर तथा कर्मचारीलाई तलब–भत्तासहित व्यवस्थापन गर्दै थप डेढ करोड रुपैयाँबराबरको उपचार सेवा विपन्न नागरिकलाई निःशुल्क दिँदै आएको छ ।

पाटनलाई सरकारले चालू आर्थिक वर्षका लागि ६० लाख अनुदान दिएको छ । यो बजेट उपकरण खरिद र मर्मतसम्भारमा खर्च हुने निर्देशक डा. इमरान अन्सारीले बताए । अस्पतालमा सामान्य शय्याको न्यूनतम शुल्क २५० रुपैयाँ छ । महँगो पैसा दिन सक्नेलाई सुविधायुक्त क्याबिनको सुविधा पनि रहेको अस्पतालका प्रशासनिक अधिकृत लीलाराज आचार्यले बताए ।

कस्ताले पाउँछन् निःशुल्क सुविधा ?
पाटन अस्पतालले डेढ करोड छुट्याएर दिने निःशुल्क उपचार गरिब तथा असहाय बिरामीले पाउँछन् । अस्पतालले प्राइभेट क्लिनिक सञ्चालन गरेर उठेको नाफा रकम गरिब नागरिकको निःशुल्क उपचारमा खर्च गर्दै आएको निर्देशक अन्सारीले बताए । ‘उपचारमा आएका कुनै पनि बिरामी फर्काउने हाम्रो नीति छैन,’ निर्देशक अन्सारीले भने, ‘उपचार खर्च तिर्न नसक्नेले औषधिसहित निःशुल्क सेवा लिन सक्छन् । बिरामीको आर्थिक अवस्था हेरेर केही प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिने गरेका छौँ ।’

केही औषधि आफैँ बनाएर बेच्छ
अस्पतालले आफैँ औषधि बनाएर बिक्रीसमेत गर्छ । पाटन अस्पतालबाट उत्पादित ग्यास्ट्रिक, खोकी, रक्तअल्पता, चोटपटकमा मालिस गर्ने औषधि लोकप्रिय छन् ।

जेरियार्डिकदेखि निजी क्लिनिक सेवा
ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि अस्पतालले ‘जेरियार्डिक’ सेवा दिँदै आएको छ । ज्येष्ठ नागरिककाको उपचारका लागि अस्पतालले १० वटा निःशुल्कै शय्या छुट्याएको छ । अस्पतालमा आउने ६० वर्षभन्दा माथिका नागरिकमध्ये पहिला आउनेले निःशुल्क शय्या पाउँछन् ।

विशेषज्ञ डाक्टरबाट अस्पतालभित्रै निजी क्लिनिक पनि सञ्चालनमा छ । टिकटका लागि लाइनमा बस्न नचाहने, नसक्ने तथा इच्छाएको विशेषज्ञ डाक्टरसँगै जचाउन चाहनेलाई यो सेवाले फाइदा पुगेको छ । यसले कार्यालय समयमै बाहिर क्लिनिकमा धाउने डाक्टरलाई अस्पतालमै रोकेको छ । यस्तो निजी क्लिनिकमा सेवा गरेबापत उनीहरूले टिकटको ७५% पारिश्रमिक पाउँछन् ।

पाटनको प्रसूति सेवा लोकप्रिय
सरकारी अस्पतालहरूमा पाटनको प्रसूति सेवा लोकप्रिय मानिन्छ । बच्चा जन्माउन पाटनमा धेरै भिड लाग्छ । दैनिक २० देखि ३० गर्भवतीले यहाँ बच्चा जन्माउने निर्देशक अन्सारीले बताए ।

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र

फार्मेसीले धानेको छ आधा खर्च, आफ्नै कमाइले तलबभत्ता

मुटुरोगीका लागि सबै सेवा दिने सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा विशेषज्ञ डाक्टर र गुणस्तरीय प्रविधि उपलब्ध छन् । यहाँ १५ वर्षमुनिका बालबालिका तथा ७५ वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार हुन्छ । यही प्रयोजनका लागि सरकारले चालू आर्थिक वर्षमा १३ करोड बजेट विनियोजन गरेको छ । यस्तै, विनाअप्रेसन मुटुको साँघुरिएको भल्ब खोल्न १ करोड ७५ लाख विनियोजन गरेको अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले बताए ।

बाथ मुटुरोगीहरूको निःशुल्क शल्यक्रिया
गंगालाल अस्पतालमा बाथ मुटुरोगीहरूलाई निःशुल्क शल्यक्रिया सेवा छ । ०७३/७४ फागुनदेखि सुरु भएको सेवा ५ सय ९६ जनाले लिइसकेका छन् । यही प्रयोजनका लागि सरकारले चालू आर्थिक वर्ष १५ करोड ९० लाख विनियोजन गरेको छ । यो रकमले ६ सय बाथ मुटुरोगीको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य रहेको अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले बताए ।

उपत्यकाबाहिर सेवा विस्तार
अस्पतालले नेपालगन्जको भेरी अञ्चल अस्पताल तथा जनकपुरको जनकपुर अञ्चल अस्पतालसँग सम्झौता गरेर सेवा सुरु गरेको छ । यीबाहेक बाँकी प्रत्येक अस्पतालमा नेपाल सरकारको सहयोगमा केन्द्रले आफ्नो शाखा खोलेको अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काले बताए ।

जुन सेवा गंगालालमा मात्रै छ
तीन महिनादेखि गंगालाल अस्पतालले कार्डियाकसिटी सञ्चालनमा ल्याएको छ । यो मेसिन जडानसँगै अब एन्जिओग्राम गर्न सहज भएको छ । अत्याधुनिक पेसमेकरहरू पनि अस्पतालमा सञ्चालनमा छन् ।

आधा खर्च धानेको छ फार्मेसीले
२० वर्षदेखि गंगालाको आफ्नै फार्मेसी सञ्चालनमा छ । प्रशासन प्रमुख खड्काले फार्मेसीले नै अस्पतालको ५० प्रतिशत खर्च धानेको बताए । ‘तलबमा मात्रै करिब १४ करोड रुपैयाँ खर्च हुन्छ,’ खड्काले भने, ‘फार्मेसीले कुनै–कुनै महिना ५ करोडसम्म आम्दानी गर्छ । तर, हामीले औषधि अन्तको तुलनामा ४० प्रतिशत सस्तोमा पनि दिएका छौँ । कतिपय औषधिमा सरकारले ट्याक्स निःशुल्क गरेको छ, जुन बाहिर अरूले बेच्न सक्दैनन् । यसकारण पनि गंगालालको फार्मेसी फाइदामा छ ।’

आफ्नै कमाइले तलबभत्ता
गंगालालमा आफ्नै आम्दानीले कर्मचारीलाई तलबभत्ता पुगेको छ । औजार उपकरणमा मात्रै सरकारको सहयोग छ ।

कान्ति बाल अस्पताल

५७ वर्षअघि सोभियत युनियनले बनाइदिएको कान्ति बाल अस्पताललाई स्थापनाको १० वर्षपछि बच्चाको विशेष उपचार केन्द्रका रूपमा विकास गरियो । कान्तिमा बिरामीको चाप बढिरहेको छ । तर, जनशक्ति र उपकरणको अभावमा अलमलिएको छ ।

५० शय्याबाट सुरु भएर अहिले ३ सय ६५ शय्या पुगेको छ । तर, जनशक्ति अभावका कारण ३ सय १५ शय्या मात्रै प्रयोगमा ल्याएको छ । आँखा, क्यान्सर, प्याथोलोजी, छाला, हाडजोर्नीलगायतमा महत्वपूर्ण दरबन्दी छैन ।

सरकारले गत वर्ष २१ करोड ८४ लाख दिएको थियो । तर, यो वर्ष साढे २ करोड कम अर्थात् १९ करोड २० लाख मात्रै उपलब्ध गराएको छ । दैनिक करिब १२ सयको संख्यामा बिरामी उपचारका लागि आउँछन् । अस्पतालकै रेकर्डअनुसार गत वर्ष १ लाख ९७ बिरामीले ओपिडी सेवा लिएका थिए । करिब १० हजारको शल्यक्रिया गरिएको थियो ।

५२ शय्याको आइसियू सञ्चालन गर्न ३७ जना मात्रै
०३६ मा ४ शय्या आइसियू रहेको कान्तिमा अहिले ५२ शय्या छ । आइसियू सञ्चालनका लागि सबै पूर्वाधार छन् । तर, जनशक्तिको अभावले पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

अस्पताल निर्देशक डा. गणेश राईले आवश्यकताअनुसार आइसियू सञ्चालन गर्न नसकिएको बताए । ‘नवजात शिशुका लागि आइसियूका २५ शय्या हुुनुपर्नेमा १६ शय्या र १ महिना माथिकाका लागि १५ शय्या तोकिएकोमा १२ शय्या मात्रै सञ्चालनमा छन्,’ निर्देशक राईले भने, ‘अप्रेसनमा आवश्यक १० मा ७ शय्या मात्रै चलाइएको छ । सरुवा रोग लागेका बिरामी राख्न दुईवटा छुट्टै आइसियू शय्या छन् ।’

प्याथोलोजी सेवामा झन् संकट
उपचाररत बच्चाहरूको रोग निदानका लागि सञ्चालित प्याथोलोजी र रेडियो इमेजिङ सेवामा दुईजना मात्रै डाक्टर छन् । यो जनशक्तिबाट मात्रै उपचार सम्भव नभएको राई बताउँछन् । ११ तहको पद खाली छ ।

फार्मेसीले अस्पताललाई घाटा, जनतालाई फाइदा
सरकारी अस्पतालमा आफ्नै फार्मेसी हुनुपर्ने सरकारको नियमअनुसार कान्तिले दुई वर्षदेखि सञ्चालन गरेको छ । तर, फार्मेसीको आम्दानी त्यहीँ काम गर्ने कर्मचारीलाई तलब खुवाउन मात्रै ठिक्क रहेको अस्पताल बताउँछ । भाडामा दिँदा मासिक ८ लाख आम्दानी भए पनि अहिले अस्पताललाई घाटा भएको निर्देशक राईले बताए ।

आयु सकिएको सिटिस्क्यान र पानीमा धुने एक्स–रेको भरमा सेवा
कान्तिमा उपकरणको पनि अभाव छ । केन्द्रीय बाल अस्पतालमा एमआरआई हुनुपर्छ, तर कान्तिमा छैन । ४ वर्षको मात्रै आयु भएको सिटिस्क्यान ७ वर्षदेखि प्रयोग गरिएको छ । पानीमा धुने एक्स–रेको भरमा सेवा चलिरहेको छ ।

परोपकार प्रसूति गृह

प्रसूति मात्रै होइन, बालबालिकाको उपचारमा पनि सक्रिय अस्पताल

प्रसूति तथा स्त्रीरोग उपचारको नेपालकै पुरानो केन्द्रीय सरकारी अस्पताल परोपकार प्रसूतिगृहले बालबालिकाको पनि उपचार गर्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर, पछिल्ला केही वर्षयता व्यवस्थापन मजबुत बनाउँदै लगेको अस्पतालले बालबालिकाको उपचार पनि थालेको छ ।

अस्पतालले वार्षिक साढे ४ लाख बिरामीलाई सेवा दिँदै आएको छ । गत वर्ष बालबालिका मात्रै २० हजारभन्दा बढीको उपचार गरिएको अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले बताए । वार्षिक ४६ करोड खर्च गर्ने यो अस्पताललाई सरकारले ३० करोड अनुदान दिने गर्छ । अस्पतालमा क्याबिनबाहेक सबै शय्या निःशुल्क रहेको गौतमले बताए ।

अस्पतालकै फार्मेसी, औषधि ५० प्रतिशत सस्तो
प्रसूतिगृहले आफ्नै फार्मेसी सञ्चालन गरेको छ । अधिकतम बिक्री मूल्यमा अन्यत्रभन्दा ५० प्रतिशतसम्म छुट दिने गरेको छ ।

किशोर–किशोरीका लागि बेग्लै सेवा
अस्पतालमा आमा सुरक्षा कार्यक्रमअन्तर्गत प्रसूति सेवा निःशुल्क छ । पाठेघर निकाल्ने सेवा पनि निःशुल्क दिएको अस्पतालले किशोर–किशोरीलाई बेग्लै सेवा दिँदै आएको छ । यौनसँग सम्बन्धित समस्या लिएर आउने किशोर–किशोरीलाई परामर्शसँगै आवश्यक पर्दा उपचार सेवा पनि दिने गरेको छ ।

बर्थिङ सेन्टरमा पुरुषलाई पनि प्रवेश
अस्पतालमा लेबर रुम छ । सामान्य प्रसूति आकस्मिक कक्षको लेबर रुममा गराइन्छ । अप्रेसन गरेर बच्चा जन्माउन अप्रेसन थियटर नै छ । तर, अन्य अस्पतालमा भन्दा फरक के छ भने यहाँ बर्थिङ सेन्टरमा सुत्केरीका श्रीमान् तथा पुरुष आफन्तले पनि प्रवेश पाउँछन् ।

भैँसेपाटीबाट ओपिडी सेवा
ललितपुरको भैंसेपाटीबाट पनि ओपिडी सेवा सञ्चालन गर्दै आएको अस्पतालले प्रदान गर्ने अधिकांश सेवा सुलभ छन् । पैसा तिर्न नसक्ने बिरामीलाई निःशुल्क सेवासमेत दिन्छ । भर्ना नै हुने बिरामीलाई दुई छाक खाना पनि निःशुल्क खुवाउँछ ।

न्याम्सअन्तर्गत प्रसूति रोगमा एमडीको पढाइ पनि यो अस्पतालमा हुन्छ । सुलभ मूल्यमा विशेषज्ञ सेवा पाइने हुँदा पनि अस्पतालमा बिरामीको कमी छैन । त्यस्तै पैसा तिर्न नसक्ने बिरामीलाई अस्पतालले निःशुल्क सेवा प्रदान गर्ने गर्छ । अस्पतालले भर्ना भएका बिरामीलाई दुई छाक निःशुल्क खाना पनि खुवाउने गर्छ ।

प्रतिक्रिया