डाइलासिसकाे पालो पाउन मुस्किल
शिक्षाखबर डेस्क
७ मंसिर २०७५, शुक्रबार
no immg

भक्तपुर : भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डाइलासिस गराउन आउने कतिपय बिरामी त्यतिकै फर्कन वाध्य छन्। केन्द्रमा दैनिक ३० जना बिरामी डाइलासिस गराउन पुग्ने गर्छन्। तर प्रतिक्षा सूचीमा रहेकालाई छाडेर केन्द्रले नयाँ बिरामीलाई डाइलासिस सेवा दिन सकेको छैन। केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रमा डाइलासिस गर्न पालो पर्खनेको संख्या बुधबारसम्म तीनसय पुगेको बताए। पालो पर्खेका बिरामीले महिना दिनमा पनि पालो पाउने सम्भावना कम छ। उनका अनुसार केन्द्रमा ३५ वटामात्रै डाइलासिस मेसिन छन्।

मिर्गौला फेल भई प्रत्यारोपण नभएसम्म बिरामीले डाइलासिस गरिरहनुपर्छ। पछिल्लो समय सरकारले डाइलासिस निःशुल्क गरेपछि केन्द्र पुग्ने बिरामीको संख्या बढेको केन्द्रले जनाएको छ। डाइलासिस गर्न आउने बिरामीलाई बाध्य भएर फर्काउनु परेको केन्द्रका प्रशासन प्रमुख हरिहर पोखरेलले बताए।

केन्द्रमा भक्तपुर, ललितपुर, काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बुका बिरामी बढी आउने गरेका छन्। यी जिल्लामध्ये काभ्रेको धुलिखेल अस्पतालमा बाहेक अन्य अस्पतालमा डाइलासिस सेवा छैन। ‘राजधानीका करिब ३५ अस्पतालमा सरकारी निःशुल्क डाइलासिस सेवा उपलब्ध छ’, केन्द्र प्रमुख डा. श्रेष्ठले भने, ‘तापनि यस केन्द्रमा बिरामीको चाप बढेको छ।’

केन्द्रले क्षमता विस्तार गर्न ठाउँ उपलब्ध गराइदिन सरकारसँग माग गर्दै आएको छ। केन्द्र विस्तार गर्न भक्तपुरकै चाँगुनारायण नगरपालिकाले जग्गा उपलब्ध गराउने आश्वासन दिए पनि पाउन सकेको छैन। जग्गा प्राप्त हुनासाथ एकसय शय्याको डाइलासिस सेन्टर सुरु गर्ने तयारी राखिएको केन्द्रका प्रमुख डा. श्रेष्ठले जानकारी दिएका छन्।

प्रतिक्रिया