मनाङ / हिमालपारिको जिल्ला मनाङमा जाडो बढेसँगै विद्यालय बन्द गरिएको छ । अत्याधिक जाडो बढेसँगै वार्षिक परीक्षा सकाएर माथिल्लो मनाङमा पर्ने ङिस्याङ गाउँपालिकाका सबै विद्यालय फागुनसम्मका लागि बन्द गरिएको छ ।
मनाङको नारपाभुमिको नार र फुगाउँका विद्यालय समेत बन्द भएका छन् । मनाङमा चिसोसँगै हरेक वर्ष मंसिर २५ गतेसम्म वार्षिक परीक्षा सकेपछि ३ महिनाका लागि छुट्टी दिने चलन छ । हिमाली जिल्ला भएका कारण जिल्लाको ४ गाउँपालिकामा रहेका सबै विद्यालयहरु बन्द गरिएको छ ।
मनाङमा हरेक वर्ष पुस १० देखि जाडो बिदा हुने गरेपनि विद्यालयहरुले चाँडै गरी वार्षिक परीक्षा सकाएर विद्यालय बन्द गराएका हुन् । विद्यालयहरुले यस वर्षको जिल्ला स्तरीय परीक्षा पनि सकाएर नतिजा समेत सार्वजनिक गरिसकेका छन् । व्यवहारिक समस्यालाई मिलाएर विद्यालय बन्द गरिएको हुन सक्ने मनाङका शिक्षा विकास तथा समन्वय इकाई समितीका प्रमुख खुलानाथ गौतमकोे भनाई छ । उनले शिक्षा कार्यालयले औपचारिक निर्णय नगरेपनि चिसोका कारण विद्यालयहरुले वार्षिक परीक्षा सकाइसकेको बताएका छन् । उनले भने ‘चिसोले बसिनसक्नु छैन ‘पुस १० गतेसम्म विद्यालय सञ्चालन गर्नुपर्ने हो, जाडोले बस्नै नसकेपछि विद्यालय बन्द गरियो । परीक्षालाई छिटोछिटो सकाएर विदा अगावै शिक्षकहरु आ–आफ्नो घर हिँडिसकेको स्थानीयबासिन्दाले बताएका छन् ।
नेस्याङ गाउँपालिकामा रहेको सात गाउँ र विकट गाउँपालिका नारफू मा ३ महिना र सदरमुकाम चामेसहित ३ स्थानमा २ महिनामात्रै विदा दिइएको छ । शिक्षा नियमावलीमा साँढे १ महिना अर्थात ५० दिन जाडो विदा भएपनि नारफू उपत्यकासहित माथिल्लो मनाङमा झण्डै ३ महिना र तल्लो क्षेत्रमा २ महिना हरेक वर्ष विद्यालय बन्द हुने गरेको छ । अधिकांश समय हिउँ जम्ने भएकाले माथिल्लो मनाङका केही विद्यालयहरुमा मुस्किलले ६ महिनामात्रै पढाई हुन्छ । शिक्षकहरु टाढा टाढाबाट आउने तथा जाने गर्नुपर्ने भएकाले मनाङको पढाई अन्य समयमा पनि प्रभावित हुँदै आएको छ ।
जिल्ला शिक्षा कार्यालय मनाङले बढी समय विद्यालयमा पढाई नभएकाले विद्यालय पढाई हुने समयमा साँझ बिहान र शुक्रबार–शनिबार मिलाएर आफ्नो कोर्ष सिध्याउन शिक्षकहरुलाई निर्देशन समेत दिने गर्दछ । जिल्लाको खाङ्सर, टंकी मनाङ, मनाङ, ङावल, घ्यारु, पिसाङ, भ्राका, चामे, नार, फू, धारापानी, ताँचै बगरछाप र थोंचे गरी कुल १३ गाउँहरुमा २ उच्च माध्यमिक, ४ माध्यमिक, ७ निम्न माध्यामिक, २७ प्राथमिक र एक नीजि विद्यालयहरु रहेका छन् । ‘स्रोत केन्द्रस्तरीय व्यवस्थापन समितिद्वारा प्रकाशित शैक्षिक क्यालेन्डर अनुसार बिदा गरिएको हो,’ अन्नपूर्ण मावि माथिल्लो मनाङका प्रधानाध्यापक आनन्दराज घिमिरले भने, ‘जाडो बढेपछि विद्यार्थी र शिक्षक बस्न मान्दैनन्, बिदा अगावै परीक्षा सक्काउनुपर्छ ।’ उनले विद्यालयबाट १० कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई एसएलसी तयारीको लागि पोखरा पठाएको बताए । माथिल्लो मनाङमा चैत १ गतेदेखि मात्रै नयाँ शैक्षिक सत्र सुरु हुन्छ ।
तल्लो मनाङको धारापानी तालस्थित भानु माविका प्रधानाध्यापक श्यामकृष्ण पन्तले विद्यालयको पठनपाठन बन्द गरिएको बताए । ‘विद्यार्थी आउँदैनन्, सबैलाई जाडो बिदा गरिदिएँ,’ उनले भने, ‘विद्यालयको प्रशासनिक काम रोक्दैनौँ ।’ चामे गाउँपालिका ३ मा रहेको लोकप्रिय माविका प्रधानाध्यक सुरेश कुमार थापाका अनुसार तल्लो मनाङका विद्यालय फागुन १ बाट सञ्चालन हुन्छ पौष १ गतेबाट विद्यालय बन्द भएको छ । ‘सबै विद्यार्थीलाई अभिभावकले जाडो छल्न काठमाडौं, पोखरा, बेसीसहर लगे,’ थापाले भने, ‘जाडो भएपछि विद्यार्थीलाई लिएर अभिभावक चाँडो जान्छन् र ढिला फर्किन्छन् ।’ विद्यार्थी नै नआएपछि शिक्षक पनि ढिला आउने उनले बताए । बाह्रै महिना हिउँ जम्ने, चिसो हुने समस्याले माथिल्लो मनाङ साथै नार र फू उपत्यकाका विद्यालयमा मुस्किलले ६ महिना मात्रै पढाइ हुने अभिभावक बताउँछन् ।






