डडेलधुरा — सुदूरपश्चिमका पहाडी जिल्लामा स्वास्थ्य सेवा अस्तव्यस्त हुन थालेको भन्दै स्वास्थ्य विभागका उच्च अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।
स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि र सहज सेवा प्रवाहमा स्थानीय तह र स्वास्थ्य विभागबीच समन्वय नहुँदा सेवा प्रवाहमा गम्भीर समस्या देखिएको अधिकारीले दाबी गरे ।
औषधि आपूर्ति प्रमुख समस्याका रूपमा देखापरेको विभागका अधिकारीको दाबी छ । संघीय सरकारले औषधि खरिद र ढुवानीका लागि आवश्यक बजेट स्थानीय तहमा पठाएको तर उसले समयमा औषधि खरिद गर्ने तथा सहज सेवा प्रवाह गर्ने विषयमा काम गर्न नसक्दा जनस्वास्थ्य सेवामा गम्भीर असर पर्न थालेको हो ।
‘विगतमा हरेक आवमा ८० प्रतिशतभन्दा बढी औषधि खरिद तथा ढुवानी हुन्थ्यो,’ सुदूरपश्चिम प्रदेशका क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘पछिल्लो समय त्यो स्थिति देखिँदैन ।’
‘कुन स्वास्थ्य संस्थामा औषधि पुग्यो/पुगेन भन्ने रिपोर्टिङसमेत हुँदैन,’ डा अवस्थीले भने, ‘स्थानीय तह, जिल्ला स्वास्थ्य, प्रदेश सरकार र संघीय सरकारबीच स्वास्थ्य सेवालाई लिएर समन्वय गर्ने मेकानिज्म अभावले सेवा प्रवाहमै समस्या देखिएको छ ।’
उनका अनुसार बजेटजति स्थानीय तहमा छ, औषधिजति स्वास्थ्य कार्यालय र क्षेत्रीय मेडिकल स्टोरमा हुन्छ । डा. अवस्थी भन्छन्, ‘पछिल्लो समय स्वास्थ्य सेवा प्रवाहबारे स्वास्थ्य कार्यालयभन्दा पनि स्थानीय तहलाई जानकारी हुन्छ ।’ ग्रामीण क्षेत्रको स्वास्थ्यस्थितिबारे स्थानीय सरकारसँग बढी जानकारी हुने भएकाले स्थानीय तहसँग समन्वय गर्न पनि डा. अवस्थीले आग्रह गरे ।