कृष्ण सेन इच्छुक बहु प्राविधिक शिक्षा दाङ बस दुर्घटना : एसएसपीको नेतृत्वमा छानबिन समिति
शिक्षाखबर डेस्क
९ पुष २०७५, सोमबार
no immg

दाङ : शुक्रबार दाङमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ। कृष्ण सेन इच्छुक बहु प्राविधिक शिक्षाका विद्यार्थी, शिक्षक सवार बस दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो।

बस दुर्घटनाका विषयमा छानबिन गर्न प्रदेश ५ प्रहरी कार्यालयले समिति गठन गरेको हो। समितिमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नरबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्य रहेका छन्।

समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेश चन्द, प्रहरी नायब उपरीक्षक पुष्प मल्ल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही र जिल्ला ट्राफिक प्रहरी कार्यालयका दाङका प्रमुख मदनबहादुर कुँवर सदस्य रहेका छन्। प्रदेश प्रहरीले घटनाको सत्यतथ्य बाहिर ल्याउन समिति गठन गरि अनुसन्धान थालेको बताएको छ।

समितिले दुर्घटनाको कारण पत्ता लगाइ प्रदेश प्रहरी कार्यालयलाई प्रतिवेदन बुझाउने छ। राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–३ राम्रीमा शुक्रबार कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी तथा शिक्षक बोको नमस्ते राप्ती यातायात प्रालिको बा ४ ख ९७६६ नं को बस दुर्घटना भएको थियो।

प्रदेश प्रहरी प्रमुख पिताम्बर अधिकारीले समितिले बस दुर्घटनाको कारण र आगामी दिनमा यस्ता दुर्घटनाबाट कसरी बच्न सकिन्छ भन्ने समाधानको खोजी गर्ने बताए। समितिलाई सात दिनको समय दिइएको छ।

प्रतिक्रिया