विद्युत प्राधिकरणको मोबाइल एप्स सञ्चालनमा
शिक्षाखबर डेस्क
११ पुष २०७५, बुधबार
no immg

काठमाण्डौ / नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई सहजै सूचना दिने उद्देश्यले मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ । प्राधिकरणका अनुसार नेपाल इलेक्ट्रिसिटी अथोरेटी एनइए नामक मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको हो । प्राधिकरणले विकास गरेको सो एप्लिकेशनले प्राधिकरणका सूचना, समाचार, बिलको जानकारी तथा प्राधिकरणका प्रकाशन तथा रोजगारीको सूचनासमेत दिनेछ । साथै कुन स्थानमा के कारणले विद्युत् काटिँदैछ भन्ने विषयको जानकारी सहजै दिनेछ । सो एप्लिकेशन ग्राहकले आफ्नो मोबाइल फोनमा डाउनलोड गर्न सक्नेछन् । एप्लिकेशनमा देशैभरका प्राधिकरणका कार्यालयको विवरणसमेत समावेश गरिएको छ । एप्लिकेशनमा युजरनेममा ग्राहकले आफ्नो नाम र जन्म मिति उल्लेख गर्नुपर्ने हुन्छ । प्राधिकरणका क्षेत्रीय कार्यालय, जिल्ला कार्यालय र वितरण केन्द्र समेत उपलब्ध रहेको छ । यस्तै नो लाइट सेवाका नम्बरसमेत उपलब्ध भएको एप्लिकेशनमा उपभोक्ताले आफ्नो बिलको बारेमा समेत जानकारी लिन सक्नेछन् । प्राधिकरणका वितरण केन्द्रले कुन स्थानमा के कारणले विद्युत् कटौती हुँदैछ, कति समयमा विद्युत् आउँछ भन्ने कुराको जानकारी समेत सोही एप्लिकेशनले दिने प्राधिकरणले जनाएको छ । एप्लिकेशनमार्फत नै हाल नेपाल इन्भेस्टमेन्ट बैंक र इ सेवामार्फत विद्युत् महसुल भुक्तानी गर्न सकिनेछ । कुनै गुनासो वा सूचना भए पनि एप्लिकेशनबाटै जानकारी गराउन सकिने जनाइएको छ । उपभोक्तालाई बढीभन्दा बढी सहज र सरलरुपमा सेवा दिने लक्ष्यका साथ मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको र त्यसमा थप सेवा थप्दै लैजाने योजनामा रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको कुन स्थानको ग्राहकले कति पटक गुनासो गरे, कति पटक कुन स्थानको लाइन काटियो र के कसरी समाधान गरियो भन्ने विषयको समेत जानकारी पाइने भएकाले सम्बन्धित कार्यालयको कार्य क्षमता तथा समस्या समाधानमा चालिएको कदमको बारेमा समेत सहजै सूचना प्राप्त हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया