पेस भएन चिकित्सा विधेयक
शिक्षाखबर डेस्क
१२ पुष २०७५, बिहीबार
no immg

काठमाडौं : शिक्षा तथा स्वास्थ्य समितिले सहमति जुटउन नसक्दा चिकित्सा शिक्षा विधेयक संसद्को बुधबार बसेको पहिलो बैठकमा पेस हुन सकेन। यसअघि समितिले पहिलो बैठकमा विधेयक पेस गर्ने निर्णय गरेको थियो। समितिले मेडिकल कलेज सञ्चालन तथा सम्बन्धनलगायत विषयमा सहमति नहुँदा संसद्मा पेस गर्न नसकेको जनाएको छ।

शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको चिकित्सा शिक्षा विधेयकमाथि छलफल गर्न गठिन उपसमितिले डा.गोविन्द केसीसँग छलफल गर्ने निर्णय गरे पनि डा.केसी सहभागी नहुँदा सहमति जुटन नसकेको हो। उपसमितिले सांसद खगराज अधिकारी, गगन थापा र योगेश भट्टराईलाई डा.केसीसँग छलफल गर्ने जिम्मेवारी दिएको थियो। ‘छलफलका लागि बोलाइएको हो। तर उहाँ (डा.केसी ) आउन चाहनु भएन। वार्ता गर्दिनँ भन्ने जवाफ दिनुभयो’, सांसद अधिकारीले भने।

सरकार र डा.केसीबीच हिउँदे अधिवेशनको पहिलो बैठकमा विधेयक पेस गर्ने सहमति भएको थियो। विधेयकमा सरकारले नै चलखेल गरिरहेको आरोप लगाउँदै डा.केसीले फेरि अनशन बस्ने चेतावनी दिएका छन्। १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने, प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई चिकित्सा शिक्षा आयोगभित्र समेट्नु पर्ने माग डा.केसीको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेल भने सीटीईभीटीलाई आयोग मातहत ल्याउन नहुने अडानमा छन्।

डा.केसीले अल्टिमेटम दिएको पुस १७ सम्म हिउँदे अधिवेशनमा विधेयक पेस भइसक्ने सांसद अधिकारीले जानकारी दिए। उनले भने, ‘छलफलका लागि बोलाएर डा.केसीलाई कन्भिन्स गराउन खोजिएको हो। सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्दै आफ्नो विवेक पनि प्रयोग गर्छौं।’

प्रतिक्रिया