चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा.गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकमा चलखेल भइरहेको आरोप लगाउँदै राजनीतिक दलका नेताविरुद्ध नै अनशन बस्ने चेतावनी दिएका छन्। विधेयकलाई अन्तिम रूप दिने तयारी भइरहेका बेला डा.केसीले अनशनको चेतावनी दिएका हुन्। उनले आगामी मंगलबार (पुस १७ गते )सम्मको समय दिँदै विगतमा सरकारसँग भएको सम्झौताअनुसार माग पूरा नभए अनशन सुरु गर्ने चेतावनी दिए।
उनी १५ पटक अनशन बसिसकेका छन्। उनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यसअघिको सम्झौताभन्दा विधेयकमा अलिकति पनि तलमाथि गर्ने प्रयास भए पुस १७ गतेपछि कुनै पनि बेला अनशन थाल्न बाध्य हुने जनाएका छन्। उनले सरकार, संसदीय समिति, संसद् र राजनीतिक दलहरूलाई यो अन्तिम चेतावनी भएको विज्ञप्तिमा उल्लेख गरेका छन्। आफ्नो लडाइँ मेडिकल माफियालाई संरक्षण गर्ने, पालनपोषण गर्ने र तिनलाई परिचालन गरेर धनी हुने राजनीतिक दलका नेता र पदाधिकारीविरुद्व केन्द्रित हुने उनको भनाइ छ।
संघीय संसद्, शिक्षा तथा स्वास्थ्य उपसमितिमा विधेयकबारे छलफल भइरहेको छ। सीटीईभीटीअन्तर्गतका कार्यक्रम चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्रबाट हटाउन, आवासीय डाक्टरलाई हतोत्साहित गर्न र अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन सरकार नै लागेको आरोप उनले लगाएका छन्। बद्मासी गर्ने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरी राष्ट्रियकरण गर्नुपर्नेलगायत माग उनले उठाएका छन्।