पर्बत / फलेबास नगरपालिका–९ स्थित ग्रामोदय माध्यमिक विद्यालयले विद्यालयका सिँढीहरू बिक्रीमा राखेको छ । विद्यालयको भौतिक पूर्वाधार निर्माणका क्रममा लागेको ऋणबाट मुक्त हुन विद्यालयले यस्तो जुक्ति निकालेको हो ।
विद्यालयद्वारा जारी सूचनाअनुसार सिँढीमा नाम लेखाउन चाहने व्यक्तिले निश्चित रकममा सो ठाउँ किन्न सक्नेछन् । आफ्नो नाम पनि लेखाउन पाइने र विद्यालय पनि ऋणमुक्त हुने सो सूचनामा उल्लेख छ ।
०१७ सालमा स्थापना भएको सो विद्यालयमा मावि तहसम्म पठनपाठन हुन्छ । विद्यालयको आन्तरिक स्रोत केही नभएपछि रकम लिएर सिँढीहरूमा नाम लेखाउन दिने निर्णय गरेको विद्यालयले जनाएको छ ।
विद्यालयको गेटसम्म जान निर्माण गरिएका सिँढीहरूमा नाम लेखाउने गरी सहयोग गर्न दातासँग अपेक्षाकृत सूचना जारी गरेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।
‘दाताहरूसँग अनुरोध गर्ने र सहयोगस्वरूप सोही सिँढीमा दाताको नामांक गर्ने भनेका छौँ,’ प्रधानाध्यापक सापकोटाले भने, ‘सोसँगै विद्यालय परिसरमा नै दाताहरूको नाम सार्वजनिकस्थलमा राख्ने भनेका छौँ,’ विद्यालय व्यवस्थापन समितिको केही दिनअघि बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
विद्यालयका पुराना भवनहरूमा रङरोगन साथै अन्य संरचना निर्माण गर्दा लागेको करिब तीन लाख रुपैँया ऋण तिर्न यस्तो विकल्प अपनाइएको वडाध्यक्ष गंगाधर शर्माले बताए । संघीय संरचना हुनुअघि नै विद्यालयका लागि विनियोजन बजेट स्थानीय तह लागू भएपछि सो रकम नपाएका कारण यस्तो अवस्था आइपरेको उनले बताए ।
सिँढीमा नाम लेखाउन न्यूनतम २५ हजार
विद्यालयको सिँढीमा नाम लेखाउन न्यूनतम २५ हजार लाग्नेछ । विद्यालयले सूचना जारी गरेपछि केही दाताहरू सम्पर्कमा आएको प्रधानाध्यापक सापकोटाले बताए । तर सहयोग प्राप्त भइनसकेको उनको भनाइ छ । अपेक्षाअनुरूप सहयोग संकलन भए विद्यालयको अन्य क्षेत्रमा रकम व्यवस्थापन गरिने उनले बताए ।
विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गुडनेबर्स इन्टरनेसनल नेपाल र सोडेकको साझेदारी रहँदै आएको छ । विद्यालयमा करिब तीन सय विद्यार्थी अध्ययनरत छन् । कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि विद्यालयले स्मार्ट कक्षासमेत सञ्चालन गरेको छ ।
विद्यालयले श्रव्यदृश्य सामग्रीसहितको कक्षा सञ्चालन गरेपछि बालबालिकासमेत पढाइमा रुचि लिन थालेको प्रधानाध्यापक सापकोटाले बताए । ‘पहिलापहिला विद्यालयप्रति खासै रुचि नदिने अभिभावकहरू पनि अहिले नियमित विद्यालय आउने र बालबालिकाको पठनपाठनप्रति चासो दिने गर्नुभएको छ,’ उनले भने ।