देशभर ७४ हजार नर्स झन्डै ४९ हजार बेरोजगार
शिक्षाखबर डेस्क
१९ पुष २०७५, बिहीबार
no immg

काठमाडौं / देशमा नर्सहरूको बेरोजगारीले सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नयाँ पत्रिकाका अनुसार नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् ।

काउन्सिलका अनुसार सात हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन् । काउन्सिलमा दर्ता भएका पाँच हजार नर्सको मृत्यु भइसकेको छ । ४८ हजार आठ सय ६ नर्स देशभित्रै बेरोजगार छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १२ हजार नर्स मात्रै कार्यरत छन् ।

निजी स्वास्थ्य संस्थामा करिब १३ हजार कार्यरत छन् । परिवार कल्याण महाशाखा नर्सिङ शाखाकी कम्युनिटी नर्सिङ प्रशासक कविता अर्याल निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सको यकिन तथ्यांक नभएको बताउँछिन् । सरकारीको पनि ठ्याक्कै तथ्यांक भने छैन । मन्त्रालयले पहिलोपटक गरिरहेको कर्मचारीको विवरण संकलन सकिएपछि नर्सको आधिकारिक तथ्यांक आउने अर्यालको भनाइ छ । मन्त्रालयका अनुसार करारबाहेक रिक्त दरबन्दी दुई हजार नौ सय ४५ खाली छ ।

विश्व स्वास्थ्य संगठनले प्रतिहजार जनसंख्याबराबर २.५ अर्थात् कम्तीमा तीनजना नर्स आवश्यक पर्ने बताएको छ । तर, नेपालमा भएका २५ हजार नर्स र नेपालको कुल जनसंख्यालाई आधार बनाउँदा एक हजार जनसंख्यालाई एउटा नर्स पनि भाग पुग्दैन । हाल २५ हजार नर्सले २ करोड ६४ लाखभन्दा बढी जनसंख्यालाई सेवा प्रवाह गरिरहेको अवस्था छ । छिमेकी मुलुक भारतमै प्रतिहजार जनसंख्यामा दुई नर्स छन् । भुटानमा १, श्रीलंका २, चीनमा २, बेलायतमा ९, अमेरिकामा १०, अस्ट्रेलियामा ११ र जापानमा ११ नर्स एक हजार जनसंख्याको भागमा पर्छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर आठ हजार तीन सय १४ स्वास्थ्य संस्था छन् । जनसंख्यालाई आधार मान्दा हाल नेपालमा भएका स्वास्थ्य संस्थामा ६८ हजार चार सय ९० नर्सको आवश्यकता छ । तर, बेरोजगार नर्सलाई समेत व्यवस्थापन गरिएको छैन । सरकारले संघीय संरचनासँगै वडा, विद्यालय र उद्योग क्षेत्रमा एक नर्स राख्ने नीति लिएको छ । ‘सरकारले लिएको नीति लागू भए हालका कुनै पनि नर्स बेरोजगार बस्नुपर्दैन,’ नर्सिङ क्षेत्रकी जानकार लक्ष्मी राई भन्छिन् ।

रोजगार भएका पनि श्रमशोषणमा
रोजगार भएका पनि श्रमशोषणमा रहेको नर्सहरूको गुनासो छ । उत्पादन भएका नर्सलाई राज्यले रोजगारी दिन नसक्नु र सेवामा आबद्ध भएकाहरू पनि शोषणमा पर्नु दुखद भएको उनीहरू बताउँछन् । नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष गोमादेवी निरौलाले सेवामा आबद्ध भएका नर्स श्रमशोषणमा परिरहेको बताइन् । नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल पनि सरकारी र निजी अस्पताल तथा नर्सिङहोममा नर्सहरूमाथि चरम आर्थिक तथा सामाजिक शोषण हुने गरेको बताउँछिन् । देशको ६० प्रतिशत स्वास्थ्य सेवा नर्सहरूको भरमा रहेको उनीहरूको दाबी छ ।

यसरी हुन्छ बेरोजगारी समाधान : कविता अर्याल, कम्युनिटी नर्सिङ अधिकृत, परिवार कल्याण महाशाखा

देशभर ३४ हजार विद्यालय छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विद्यालय एक नर्सको कार्यक्रम अगाडि सारेको छ । सरकारलले विद्यालयमा किशोर–किशोरीलाई यौन तथा प्रजनन शिक्षा, पोषणको अवस्था, सुरुवाती रोगको पहिचान, स्वास्थ्य प्रवद्र्धनजस्ता समस्या समाधान गर्न नर्स व्यवस्था गर्ने नीति लिएको हो । यो कार्यक्रम लागू भए उत्पादित नर्सको बेरोजगारी समस्या समाधान हुन्छ ।

सामान्यतया सय बेडको अस्पतालमा एक नर्सले ४ देखि ५ बिरामी हेर्छन् । तर, नेपालका स्वास्थ्य संस्थामा एक नर्सले जनरल बेडमा ४० जना बिरामीसम्म हेर्ने गरेका छन् । आइसियूमा एक बिरामी एक नर्स, इमर्जेन्सीमा एक बिरामी दुई नर्स हुनुपर्छ । अप्रेसन थिएटरमा एक बिरामी तीन नर्स आवश्यक पर्छ । तीन सिफ्ट गर्दा सय बेडको अस्पतालमा ७० जना नर्स चाहिन्छ । यसलाई आधार मान्दा हाल देशमा भएका स्वास्थ्य संस्थामा ६८ हजार चार सय ९० जना नर्स खपत हुन्छन् ।

प्रतिक्रिया