रुपन्देही / प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले हचुवाका भरमा शैक्षिक संस्थालाई करोडौँ रकम बाँडेको सांसदहरुले आरोप लगाएका छन् । मन्त्रालयले अनुदान बाँड्दा मन्त्री र कर्मचारीका रोजाइका क्याम्पसले अनुदान पाएको, आफू अनुकुलका क्याम्पस छानेको र पारदर्शिता नअपनाइएको उनीहरुको दाबी छ ।
सांसदहरुको असन्तुष्टि बढेपछि सामाजिक विकास समितिले क्याम्पसलाई अनुदान बाँड्नुको कारण, मापदण्ड र कार्यविधि माग गरेको सभापति दीर्घनारायण पाण्डेले बताउनुभयो । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले शैक्षिक र भौतिक सुधारका लागि भन्दै ८५ क्याम्पस तथा विद्यालयलाई १२ करोड ४० लाख रकम अनुदानमा दिने निर्णय गरेको थियो । सो निर्णयका आधारमा शिक्षा निर्देशनालय मार्फत ६३ क्याम्पस तथा विद्यालयले ७ करोड ८० लाख रकम पाएका छन् । भौतिक पूर्वाधारका लागि २२ क्याम्पसलाई ४ करोड ६० लाख रकम बा“डिएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता मित्रमणि खनालले भने १५ दिने सूचना निकालेर आवेदन दिएजति क्याम्पसलाई अनुदान बा“डिएकाले अपारदर्शी नभएको बताउनुभयो ।