कर्मचारी समायोजनमा सरकारी चिकित्सकले भाग नलिने
शिक्षाखबर डेस्क
२३ पुष २०७५, सोमबार
no immg

काठमाण्डौ / सरकारी चिकित्सकहरूले कर्मचारी समायोजन अध्यादेश अनुसार भाग नलिने बताएका छन् । समायोजन विधेयकमा अन्याय गरेको भन्दै सरकारी चिकित्सक संघ (गोदन)मा आबद्ध केही चिकित्सकले विरोधस्वरूप सहभागी नहुने जनाएका हुन् । विरोधस्वरूप उनीहरूले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भेला भई समायोजनमा सहभागी नहुने जनाएका हुन् । संघीय संरचनाअनुसारका नयाँ संगठन संरचनामा स्वास्थ्यका कर्मचारीलाई स्तरवृद्धिको सुविधा नदिएको गोदानको आरोप छ । उनीहरूले देशभरका सम्पूर्ण सरकारी चिकित्सकलाई तत्काल समायोजन फारम नभर्न भने पनि चिकित्सकले भरिरहेका छन् ।

उपकुलपति नियुक्तिको माग
गोदानले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तत्काल उपकुलपति नियुक्ति गर्न माग पनि गरेको छ । गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले न्याम्समा तत्काल पदाधिकारी नियुक्तिको माग गरे । न्याम्स उपकुलपतिविहीन भएको करिब पाँच महिना हुन लागेको छ । उपकुलपतिलगायत पदाधिकारी लामो समय नियुक्त नहँुदा वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरको दैनिक काम कारबाही ठप्पजस्तै बनेको छ । चिकित्सकहरूले न्याम्सभित्रैबाट पदाधिकारी चयन गर्न सरकारलाई सचेत गराएका छन् ।
चिकित्सकको सुरक्षा सुनिश्चिततामा जोड
सरकारी चिकित्सकहरूले समयानुकूल तलबभत्ता वृद्धि, सामाजिक सुरक्षा, अस्पतालका भौतिक पूर्वाधारको गुणस्तर वृद्धि तथा औजार उपकरणको सहज उपलब्धता, संघीय निजामती ऐनमा स्वास्थ्यका कर्मचारीको समतामूलक स्थान, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चितता हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया