सामुदायिक आँखा अस्पतालमा बिरामीको घुइँचो
शिक्षाखबर डेस्क
१ माघ २०७५, मंगलवार
no immg

हेटौँडा / गैरनाफामूलक हेटौँडा सामुदायिक आँखा अस्पतालमा बिरामीको घुइँचो लाग्न थालेको छ । अस्पतालले हाल दैनिक दुई सय बिरामीलाई सेवा दिइरहेको छ । नेपाल अाँखा कार्यक्रमअन्तर्गत तीलगंगा आँखा प्रतिष्ठान काठमाडौंको शाखाको रूपमा सन् २००८ मा हेटौँडा उपमहानगरपालिका १० स्थित टिसिएनमा उक्त अस्पताल स्थापना भएको हो । अस्पतालले वार्षिक करिब ५० हजार जनाको आँखा परीक्षण गर्ने गरेको वरिष्ठ प्रशासकीय अधिकृत सुधीरभद्र श्रेष्ठले बताए ।

आँखा परीक्षणका लागि मकवानपुरसहित बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र भारतबाट समेत आउने गरेको उनले बताए । १० वर्षको अवधिमा अस्पतालले ५ लाख ८२ हजारजनाको आँखा परीक्षण र ३३ हजार २ सय ५० जनाको आँखाको शल्यक्रिया गरेको छ । २७ हजार १ सय ३० जना मोतीबिन्दुका बिरामीको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

मोतीबिन्दुको निःशुल्क शल्यक्रिया
अस्पतालले मकवानपुरबाहेक अन्य जिल्लामा समेत निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । वर्षमा करिब ३५ वटाभन्दा बढी निःशुल्क शिविर सञ्चालन हुँदै आएको अस्पतालले जनाएको छ । शिविरमा फेला परेका मोतीबिन्दुका बिरामीलाई अस्पतालमा ल्याएर निःशुल्क शल्यक्रिया गर्ने गरेको श्रेष्ठले बताए ।
१२ जनाको नानी संकलन
अस्पताल परिसरमा आँखाको नानी संकलन केन्द्र स्थापना गरिएको छ । एक वर्षअघि स्थापना गरिएको केन्द्रले हालसम्म १२ जना मृतकको आँखाको नानी संकलन गरेको छ । अस्पतालमा पहिलोपटक हेटौँडा उपमहानगरपालिका–४ खोपेगल्लीका रामकृष्ण श्रेष्ठको नानी संकलन गरिएको थियो । केन्द्र स्थापना गर्न हेटौँडा उपमहानगरपालिका कार्यालयले चार लाख रुपैयाँ सहयोग गरेको थियो । नानी संकलन गर्न स्वास्थ्यकर्मी घाट, अस्पताल वा घरमा पुग्ने गर्छन् ।

प्रतिक्रिया