काठमाडौं / नेपाल विद्यार्थी संघ (नेविसंघ)को ११औँ महाधिवेशनबाट निर्वाचित नैनसिंह महर नेतृत्वको कार्यसमिति विधानत स्वतः भंग भएको छ । गत २ भदौमा सकिएको कार्यसमितिको म्याद मातृ पार्टी कांग्रेसले दुईपटक थपेर २ माघसम्म पुर्याएको थियो । केन्द्रीय कार्यसमिति कामचलाउ भएपछि मातहतका समिति पनि स्वतः कामचलाउ भएका छन् ।
नेविसंघले १२औँ महाधिवेशन गर्न नसकेपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने दिन १० माघसम्मका लागि दैनिक कार्य सञ्चालनको जिम्मेवारी दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दैनिक कार्य सञ्चालन मात्रै गर्ने गरी १० माघसम्म यही कार्यसमितिलाई निरन्तरता दिएको जानकारी दिए । ‘११औँ महाधिवेशनबाट निर्वाचित भएर आएको नेविसंघको केन्द्रीय कार्यसमितिको म्याद विधानतः बुधबारबाट स्वतः सकिएको छ’ कांग्रेस प्रवक्ता शर्माले भने ‘अब नेविसंघका विषयमा कसरी अगाडि बढ्ने भन्नेबारेमा १० माघमा आह्वान भएको केन्द्रीय समितिमा छलफल हुन्छ । त्यस दिनसम्मका लागि दैनिक कार्यसञ्चालनका लागि मात्रै यही समितिलाई निर्देशन दिएका छौँ ।’
कांग्रेस केन्द्रीय कार्यालयले बुधबार विज्ञप्ति जारी गरी १० माघमा बस्ने केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार हुने गरी दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिइएको जनाएको छ ।
तीनपटक महाधिवेशनको मिति तोकेको महर नेतृत्वको कार्यसमितिले अहिलेसम्म १५ जिल्लाको मात्रै अधिवेशन सम्पन्न गरेको छ । उपत्यकाका कुनै पनि क्याम्पसको अधिवेशन नभएको कोषाध्यक्ष शिव रिमालले जानकारी दिए । पछिल्लोपटक महरले २८–३० पुसका लागि १२औँ महाधिवेशनको मिति तोकेका थिए ।