इलाम / राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विरोधमा १६ औं सत्याग्रहमा रहेका डा.गोविन्द केसीलाई रातारात काठमाडौं ल्याईएको छ । स्वास्थ्य स्थिति जटिल भएको भन्दै केसीलाई एम्बुलेन्स मार्फत झापाको भद्रपुरबाट सेनाको हेलिक हेलिकप्टरमार्फत केसीलाई काठमाडौं ल्याईएको हो । उहाँलाई बिहान करिब ३ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थल ल्याई पुर्याईएको डा.केसीका सहयोगी डा. अभिषेकराज सिंहले जानकारी दिनुभयो । स्वास्थ्य अवस्थाका कारण डा. केसीलाई राती नै महाराजगञ्जस्थित शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार सुरु भएको छ । त्रिभुुवन विश्व विद्यालयका पूर्व उपकुलपति तथा चिकित्सा शिक्षा सम्वन्धि राष्ट्रिय नीति तर्जुमा कार्यदलका संयोजक केदारभक्त माथेमा, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, अधिकारकर्मी दमननाथ ढुङ्गानालगायतको टोली हिजो साँझ इलाम पुगेको थियो । उहाँहरुको पहलमा डा.केसीलाई काठमाडौं ल्याईएको हो । यसअघि धरानवाट आएको विषेश चिकित्सक टोलीले केसीको स्वास्थ्य जटिल भएकाले जुन सुकै बेला पनि समस्या आउने भन्दै तत्काल आईसीयू र सीसीयु सुविधा भएको अस्पतालमा लानु पर्ने निश्कर्ष निकालेका थिए । हिजो साँझ डा. केसीको अन्दोलनमा समर्थन जनाउन आएका सामाजिक अगुवाले उहाँको स्वास्थ्य स्थिति बुझेपछि तत्काल काठमाडौं लानु पर्ने निष्कर्ष निकालेका थिए । ‘डा. केसीको सत्याग्रह माग पूरा नभएसम्म कायम रहन्छ,’ पूर्व सभामुख दमननाथ ढुङ्गानाले भन्नुभयो, ‘तर उहाँको स्वास्थ्य स्थितिलाई ख्याल गरेर जसरी पनि काठमाडौं लानुको विकल्प भएन ।’ सँगै रहेका माथेमा र कार्कीले पनि ढुङ्गानाको भनाईमा सहमति जनाउनुभएको थियो । त्यस्तै केसीका निकट सहयोगी अभिषेक राज सिंह र सुरेन्द्र भण्डारीले पनि केसीको जीवन रक्षाकालागि यो पहल गरिएको वताउनुभएको थियो ।