कालिकोट / भेडाबाख्रा पाल्ने किसानलाई कालिकोटको पचालझरना गाउँपालिकाले मासिक भत्ता दिने भएको छ । पचालझरनाको गाउँ सभाले भेडाबाख्रा पाल्ने किसानलाई भत्ता दिने निर्णय गरेको हो । भेडाबाख्रा पाल्ने किसानलाई प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए । उनका अनुसार भत्ता पाउनका लागि किसानले कम्तीमा ६० भेडाबाख्रा पाल्नुपर्नेछ ।
उनीहरूलाई मासिक एक हजार भत्ता प्रदान गरिनेछ । त्यस्तै, सयभन्दा बढी भेडाबाख्रा पाल्ने किसानले दोब्बर भत्ता पाउनेछ । उनीहरूलाई मासिक दुई हजार भत्ता दिने निर्णय गरिएको अध्यक्ष सेजुवालले बताए । ‘किसानलाई पशुपालन व्यवसायमा लगाउनका लागि भत्ताको व्यवस्था गरिएको हो । यसले बेरोजगार युवालाई पशुपालनतर्फ आकर्षित गर्नेछ,’ उनले भने । यससँगै पशुपालन गर्ने किसानलाई ऋण उपलब्ध गराइने भएको छ । उनीहरूलाई सहुलियत दरमा ऋण दिने व्यवस्था गरिएको अध्यक्ष सेजुवालले बताए ।