भारतीय तरकारीमा निर्भर काठमाडौं
शिक्षाखबर डेस्क
५ माघ २०७५, शनिबार
no immg

काठमाडौं / काठमाडौं उपत्यकामा गत वर्ष ०७४ मा २२ करोड ५१ लाख ३८ हजार ६ सय ७० किलो तकारी खपत भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । काठामाडौं भित्रिने ९० प्रतिशत तरकारी कालिमाटी हुँदै साना बजार र पसल–पसल पुग्छन् । गत वर्षको तथ्यांकलाई हेर्दा काठमाडौंका बासिन्दा भारतीय तरकारीमा निर्भर छन् । उपत्यकामा खपत भएको ४५.५३ प्रतिशत तरकारी भारतबाट आयात भएको छ ।

चीनबाट भने नगन्य मात्रामा ०.४९ प्रतिशत तरकारी आयात भएको कालिमाटी फलफूल तथा बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिए । तथ्यांकअनुसार भारत र चीनबाहेक झापा, काभ्रे, मकवानपुर, नुवाकोट, पर्सा, सर्लाही, सिन्धुपाल्चोक र तनहुँबाट मुख्य रूपमा काठमाडौंमा तरकारी भित्रिन्छन् ।

छिमेकी जिल्लामध्ये सबैभन्दा बढी काभ्रेबाट ११.६७ प्रतिशत र मकवानपुरबाट ६.०९ प्रतिशत तरकारी आयात हुने गरेको छ । भारतबाट आयात नहुने हो भने उपत्यकामा तरकारीको मागलाई धान्न नसकिने श्रेष्ठ बताउँछन् । ‘हामी तरकारीमा आत्मनिर्भर छैनौँ,’ उनले भने ।

धेरै खपत हुने तरकारी

आलु : सर्वसाधारणले सबैभन्दा बढी आलुको खपत गर्दै आएका छन् । तथ्यांकअनुसार कुल खपतमध्ये आलुको हिस्सा २७.४३ प्रतिशत छ । एक वर्षमा रातो र सेतो आलु ६ करोड १७ लाख ६७ हजार ८ सय ५६ किलो खपत भएको तथ्यांक छ । यसमध्ये रातो आलु उपभोक्तामाझ लोकप्रिय छ । रातो आलु ६ करोड ४ लाख ३५ हजार ८ सय २२ किलो खपत भएको थियो ।

प्याज : सर्वसाधारणको भान्सामा प्याज अनिवार्य बनेको छ । तरकारी पकाउनुअघि तेलमा झानेर यसको उपयोग हुँदै आएको छ । कुल तरकारी खपतमा प्याजको हिस्सा १३.७२ प्रतिशत छ । गत वर्ष सुकेको र हरियो प्याज ३ करोड ८ लाख ९० हजार ३ सय २ किलो खपत भएको थियो । त्यसमध्ये सुकेको प्याज २ करोड ९६ लाख ७२ हजार ७ सय ६९ र हरियो प्याज १२ लाख १७ हजार ५ सय ३३ किलो खपत भएको थियो ।

गोलभेँडा : तरकारीलाई स्वादिलो बनाउन प्रयोग गरिने गोलभेँडा तेस्रो धेरै खपत हुने तरकारीको सूचीमा परेको छ । यसको अचार उत्तिकै लोकप्रिय छ । शरीरलाई चाहिने पौष्टिक तत्वका हिसाबले पनि गोलभेँडाको उपयोग बढ्दै गएको छ । कुल खपतमा गोलभेँडाको हिस्सा ९.९३ प्रतिशत रहेको छ । गत वर्ष सानो र ठूलो गोलभेँडा २ करोड २३ लाख ५७ हजार ८ सय ६१ किलो खपत भएको थियो । यसमध्ये सानो गोलभेन्डा मात्र २ करोड १२ लाख ५५ हजार ९ सय ९ किलो खपत भएको थियो ।

काउली : जुनसुकै सिजनमा काउलीको खपत बढ्दै गएको छ । बेमौसममा उत्पादन भएको काउलीको मूल्य तुलनात्मक रूपमा बढी हुने भए पनि खपतमा खासै कमी आउने गरेको छैन । कुल खपतमा काउलीको हिस्सा ७.९८ प्रतिशत रहेको छ । गत वर्ष स्थानीय र तराईका काउली १ करोड ७९ लाख २४ हजार ६ सय ८० किलो खपत भएको थियो । यसमध्ये स्थानीय काउली १ करोड ६९ लाख ७३ हजार ५ सय ९० किलो खपत भएको थियो ।

बन्दा : तरकारीलगायत अन्य परिकारसँग मिसाएर उपभोग गर्ने भएका कारण बन्दाको उपयोग बढ्दै गएको छ । बन्दाबाट प्रशस्त मात्रामा पौष्टिकता पाइने गरिन्छ । कुल खपतमा बन्दाको हिस्सा ४.४१ प्रतिशत रहेको छ । गत वर्ष ९९ लाख २५ हजार ८ सय ४३ किलो बन्दा खपत भएको थियो ।

काँक्रो : अचार, सलाद र अन्य परिकार बनाएर उपभोग गर्ने काँक्रो सर्वाधिक खपत हुने तरकारीको सूचीमा छैटौँ स्थानमा छ । गर्मीमा शीतलताका लागि काँक्रो काटेर उपभोग गर्ने प्रवृत्ति बढ्दै गएको छ । कुल खपतमा काँक्रोको हिस्सा ३.२१ प्रतिशत छ । गत वर्ष ७२ लाख ३७ हजार २ सय ४९ किलो काँक्रो खपत भएको थियो ।

मूला : तरकारीमा खासै नरुचाइने मूलाको अचार लोकप्रिय छ । ताजा तथा सुकाएर बनाइने अचारका लागि मूलाको उपयोग बढ्दै गएको छ । कुल खपतमा यसको हिस्सा २.६० प्रतिशत रहेको छ । गत वर्ष रातो र सेतो मूला ५८ लाख ६२ हजार २ सय १३ किलो खपत भएको थियो । यसमध्ये सेतो मूला ५४ लाख ७१ हजार ७३ किलो खपत भएको थियो ।

प्रतिक्रिया