धनगढी / सुदूरपश्चिम प्रदेशका २ सयभन्दा बढी विद्यालयका १० हजार बालबालिकालाई योगाभ्यास सुरु गरिएको छ । आगामी शैक्षिक सत्रदेखि प्रदेशअन्तर्गतका सबै विद्यालयमा लागू गरिने आयुर्वेद र योग शिक्षालाई समेटेर शैक्षिक पाठ्यक्रमसमेत तयार गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयअन्तर्गत आयुर्वेद तथा विविध सेवा शाखाले तयारी सुरु गरेको हो । हाल प्रदेशअन्तर्गतका ९ वटै जिल्लाका ४२ आयुर्वेद स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र पतञ्जलीका योग शिक्षकले योगाभ्यास गराएको सामाजिक विकास मन्त्रालयका योग चिकित्सक डा. चेतराज जोशीले बताए । धनगढीस्थित ऐश्वर्य विद्या निकेतनमा अध्ययनरत खगेन्द्र जोशी प्रदेश स्वास्थ्य निर्देशनालयले सञ्चालन गरेको योग प्रशिक्षणमा सुरुमै सहभागी भए । ५ दिनसम्म योगाभ्यास गरिसकेपछि शरीरमा फूर्तिपन आएको उनले सुनाए ।
ग्रामीण क्षेत्रका विद्यार्थीलाई पनि सातामा २ दिन योग गराउने कार्यक्रम थालिएको निर्देशनालयले जनाएको छ । उनीहरूलाई योगको परिचय तथा महत्त्व, योगको भूमिका, स्मरणशक्ति बढाउने, आत्मविश्वास, प्राणायाम, दिनचर्या, मुख्य १० जडीबुटी र प्राणायामको अभ्यासबारे जानकारी दिइँदै आएको निर्देशनालयले जनाएको छ । यस प्रदेशका ८८ स्थानीय तहमध्ये ३८ वटामा आयुर्वेद स्वास्थ्य संस्था छन् । पहिलो चरणमा सम्बन्धित स्थानीय तहअन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई योगाभ्यास सुरु गरिएको डा. जोशीले बताए ।
‘पहिलो चरणमा २ सय विद्यालयका करिब १० हजार विद्यार्थीलाई योगाभ्यासमा सहभागी गराइएको छ,’ डा. जोशीले भने, ‘आउँदो शैक्षिक सत्रदेखि प्रदेशका सबै विद्यालयमा योग शिक्षा अनिवार्य गर्ने योजना अघि बढेको छ ।’
प्राचीन समयमा ऋषिमुनिहरूले प्राकृतिक उपचारका क्रममा गर्ने गरेका हरेक क्रियाकलाप तथा विधि र शारीरिक अभ्यासलाई योग भनिन्छ । हाल योगको महत्त्व बढेको छ । सन् २०१५ देखि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेसँगै योगको महत्त्व झन् विस्तार भएको हो ।
शरीरमा हुने विभिन्न प्रकारका समस्यालाई प्राकृतिक रूपमा आसन र प्रणायामको माध्यमबाट निको पार्न सकिन्छ भन्ने योगले प्रमाणित गरेको बताइन्छ । अस्पतालमा उपचार हुन नसक्ने बिरामीलाई थेरापीमार्फत उपचार गराइनुले पनि योगको महत्त्व थप प्रस्ट पारेको छ । अर्कोतिर योग साधना र अभ्यासले सकारात्मक सोच, व्यक्तित्व विकास, तनाव व्यवस्थापन तथा स्वस्थ रहन मद्दत गर्ने योग प्रशिक्षक कुलबहादुर हमाल बताउँछन् ।
बाल्यावस्थादेखि नै योगाभ्यासमा प्रेरित गर्न सके अबको पुस्ता स्वस्थ हुने योग प्रशिक्षक बताउँछन् । सुदूरपश्चिम सामाजिक विकास मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशनालयले सुरु गरेको यो कार्यक्रम सकारात्मक रहेको पतञ्जली नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्र बताउँछन् ।
निर्देशनालयले ४२ वटै आयुर्वेद संस्थाका प्रमुखलाई ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम दिएर गाउँ पठाएको छ । तालिम लिएर गाउँ पुगेका आयुर्वेद स्वास्थ्य संस्थाका प्रमुखले पतञ्जलीका योग प्रशिक्षकहरूको सहकार्यमा विद्यालयमा योगाभ्यास गराउने निर्देशनालयका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जनाए । यसका लागि हरेक संस्थालाई ८५ हजार उपलब्ध गराइने अवस्थीले बताए ।
प्रदेशमा आयुर्वेदिक प्रतिष्ठान स्थापनाको प्रक्रियासमेत सुरु भएको छ । सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान ऐनका लागि प्रदेश सरकार मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त गरी कानुन मन्त्रालयमा पुगिसकेको छ । उक्त ऐन बनेपछि धनगढीको राजपुरमा निर्माणाधीन अवस्थामा रहेको ५० शय्याको अस्पताललाई प्रतिष्ठानमा विकास गरी त्यहीबाट आयुर्वेद चिकित्सामा एमडी र एमएस अध्यापन गराउने उद्देश्य अगाडि बढ्ने आयुर्वेद चिकित्सक डा. खगेन्द्र बम बताउँछन् । प्रतिष्ठानका लागि प्रदेश सरकारले चालु बजेटमा २ करोड विनियोजन गरेको छ ।
पछिल्लो समय नसर्ने रोगले मृत्यु हुने क्रम बढ्दो छ । यी समस्या न्यूनीकरण गर्न विद्यालय तहदेखि नै योग शिक्षा लागू गर्नु उचित विकल्प भएको सामाजिक मन्त्रालयकी आयुर्वेद स्वास्थ्य सहायक दीक्षा भण्डारीले बताइन् । प्रदेश मन्त्रालयको योजना पनि स्थानीय तहमा योग शिक्षासँगै आयुर्वेदसमेत जोडदै लैजाने रहेको डा. जोशी बताउँछन् । ‘हामीले काम सुरु गरिसकेका छौं,’ नगरपालिका उपप्रमुख अञ्चला चौधरीले भनिन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि जडीबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापनाका लागि १० करोड विनियोजन गरेको छ ।