चितवन / भरतपुर स्थित नेपाल पोलिटेक्निक इन्स्टिच्युटद्वारा पशु चिकित्सा स्नातक कोर्ष (बिभीएससी एण्ड ए.एच) कार्यक्रममा चर्को शुल्क बृद्दी गरि मनोमानी रुपमा भर्ना गरेको भन्दै सो कलेजका बिद्यार्थी संगठनहरु आन्दोलित भएका छन् ।
बिश्वबिद्यालय र नेपाल भेटेनरी काउन्सिलको न्युनतम मापदण्ड पनि पुरा नगरी कलेज संचालन गर्ने अनि काउन्सिले हाल आएर भर्ना प्रक्रिया रोक्दा मापदण्ड पुरा गर्ने नाममा बिद्यार्थीको ढाड सक्नेगरी नवौ ब्याचको एकै पटक ४,५०,००० प्रति विद्यार्थीको दरले शुल्क बृद्दी गर्दै मेरिट आधारको भर्ना प्रकिया पनि मिची मनोमानी रुपमा भर्ना गरेको आरोप लगाउदै सो कलेजमा क्रियासिल दुइ बिद्यार्थी संगठनहरु अखिल (क्रान्तिकारी) र अनेरास्ववियु ले कलेज प्रसासन समक्ष संयुक्त ज्ञापनपत्र पेश गर्दै बिना सर्त शुल्क पुरानै कायम गरि मेरिटकै आधारमा भर्ना प्रकिया संचालन नगरे आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । संयुक्त ज्ञापनपत्रमा अनेरास्ववियुबाट इकाई अध्यक्ष समुन्द्र के.सी र अखिल(क्रान्तिकारी) को तर्फबाट इकाई उपाध्यक्ष योगेस कुँवर योगीले हस्ताक्षर गरेका छन् ।
पुर्बांचल बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त पशु चिकित्सा स्नातक तहको सो कार्यक्रममा शैक्षिक सत्र २०७५।७६ लागि गत असोज ४ गते प्रवेश परिक्षा सम्पन्न गरेता पनि पशु चिकित्सा परिषद्ले नेपाल पोलिटेक्निक इन्स्टिच्युटले सो कार्यक्रम सञ्चालनका लागी जनशक्ति, भौतिक पूर्वाधार, प्रयोगशाला, पशु चिकित्सा शिक्षण अस्पताल, पशुपन्छी फार्म, उपकरण, पुस्तकालय, लगायतका न्यूनतम मापदण्ड पनि पुरा नगरेकाले शैक्षिक सत्र २०७५।७६ मा नयाँ भर्ना हुने विद्यार्थीलाई उक्त विश्वविद्यालयबाट प्रदान गरिने प्रमाणपत्र तथा उपाधीहरुलाई परिषदले मान्यता नदिने बताएपछि पशु चिकित्सा स्नातक तहको भर्ना प्रक्रिया रोकिएको थियो ।
नेपाल पोलिटेक्निक इन्स्टिच्युटले पशु चिकित्सा परिषद्ले भर्ना फुकुवा गरेको भन्दै फागुन ६ गते सुचना जारि गरि पशु चिकित्सा स्नातक तहको सो कार्यक्रममा शैक्षिक सत्र २०७५।७६ लागि भर्ना खुलाएर नया शुल्कमा ४२ जनाको भर्ना गरिसकेको छ ।