काठमाडौं / कांग्रेस केन्द्रीय कार्यालयको परिसरमै आइतबार भ्रातृ संस्था नेविसंघको दुई खेमाका नेता–कार्यकर्ता आपसमै भिडे । झगडा साम्य पार्न प्रहरी आएर लाठीचार्ज गर्नुप-यो । तर, केन्द्रीय समिति बैठक बस्ने तयारीमा रहेका माउ पार्टीका नेताहरू दोस्रो तलाबाट रमिता हेरेर मात्रै बसे । झगडा मिलाउन आँगनमा झर्ने आँटसमेत गरेनन् ।
झडप शान्त भएपछि नेविसंघका नेता–कार्यकर्तालाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइयो । तर, त्यसपछि बसेको केन्द्रीय समिति बैठकमा आँगनमै मच्चिएको ताण्डवबारे छलफलसमेत भएन । बोल्न खोज्ने नेताहरूलाई पनि सभापति शेरबहादुर देउवाले रुलिङ गरेर बस्न लगाए । सभापति देउवा र कृष्ण सिटौला पक्षका विद्यार्थीबीच झडप भएको थियो ।
पार्टीका भावी नेताहरूको यस्तो अराजकताबारे कांग्रेसले केन्द्रीय समिति बैठकमा छलफल गरेको छैन र त्यसपछि पनि मुख खोलेको छैन । घटनाको छानबिन र दोषीलाई कारबाही गर्ने औपचारिकतासमेत पार्टीले देखाएको छैन । नेविसंघ १२ महाधिवेशनको पर्खाइमा छ । अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल र थप गरिएको पाँच महिनाभित्रसमेत महाधिवेशन गर्न सकेनन् । त्यसैले उनले राजीनामा दिए । तर, महरले राजीनामा दिएको १५ दिनपछि पनि तदर्थ समिति गठन नभएपछि नेविसंघमा नेतृत्वविहीनता र अराजकता बढेको छ ।
तदर्थ समिति गठन गर्ने बाटो खुलेदेखि नै पार्टी नेतृत्वलाई दबाब दिन विभिन्न समूह अग्रसर भएका छन् । कृष्णप्रसाद सिटौला पक्षले केन्द्रीय समितिको बैठक बस्ने दिन नियमित केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै विधानअनुसार ३२ वर्षे उमेरहद लगाएर तदर्थ समिति बनाउन माग राख्दै आएको छ । यो पक्षले सभापति शेरबहादुर देउवासहितका अरू पदाधिकारी कार्यालय प्रवेश गर्दा घेराउ र नाराबाजी गर्दै आएको थियो । आइतबार पार्टी संस्थापन पक्षका नेता–कार्यकर्ता पनि सानेपा पुगेपछि झडप भयो ।
पार्टी कार्यालयमै सभापतिलाई घेर्न थालेपछि सहेनौँ : ऋषिकेशजंगह शाह
कार्यकर्तासँग नेता डराउनुपर्ने अवस्था आयो । सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा. प्रकाशशरण महतलाई केन्द्रीय कार्यालयमा केही दिनयता नेविसंघका नेता र विद्यार्थीले अनावश्यक घेराउ र अपमान गरे । लोकतान्त्रिक र अनुशासित पार्टीभित्र अराजकता हुुनुहुँदैन । सभापतिसहितलाई १० जना मान्छे गएर सधैँ घेर्ने शैली ठीक छैन भनेर हामी पनि केन्द्रीय कार्यालयमा पुगेका हौँ ।
अराजकता भयो भनेर गएका हौँ । कोही व्यक्तिका विरुद्ध लाग्न र आक्रमण गर्न गएका होइनौँ । हाम्रो ब्यानर च्यातियो, हामीमाथि पानीको बोतल फ्याँकियो अनि झडपको स्थिति आएको हो । जुन घटना दुखद् हो । हामी संगठनमा आत्मीयतासहितको एकता हुनुपर्छ भन्नेमा छौँ ।
महतको निर्देशनमा हामीमाथि आक्रमण : रामप्रसाद अधिकारी, नेविसंघ नेता, सिटौला पक्ष
नेविसंघमा ३२ वर्षे उमेरहद लगाएको विधान बनेदेखि नै हामीले विधानसम्मत संगठन चल्नुपर्छ भन्दै माग गरिरहेका थियौँ । त्यसैअनुसार आइतबार पनि हामी शान्तिपूर्ण धर्ना दिन पुगेका थियौँ । पार्टी सचिव प्रदीप पराजुलीसँग सल्लाह भएरै हाम्रो टोलीले पार्टी अफिसको पूर्वीगेट र ऋषिकेशजंग शाहले पश्चिमगेटबाट धर्ना दिने भन्ने सहमति भएको थियो । सहमतिअनुसार हामीले पूर्वीगेटअगाडि धर्ना दियौँ, तर ऋषि नेतृत्वको टोली पनि हामीले नै धर्ना दिन लागेको गेटतिर आएर हामीमाथि आक्रमणमा उत्रिए ।
हामीहरूले शान्तिपूर्ण प्रदर्शन गर्दा उनीहरूले हेलमेट लगाएका गुन्डाहरू ल्याएर हामीमाथि ढुंगामुढा गरेपछि झडपको स्थिति आएको हो । झडपपछि प्रहरीले लाठीचार्ज नै गर्नुपर्ने अवस्था आयो । हाम्रोतर्फका दीपेन्द्र क्षेत्री, रत्नहरि ढुंगेल, भीम महतसहितका नेता घाइते भए । यो पार्टीका नेता प्रकाशशरण महतको निर्देशनमा भएको आक्रमण हो ।
कुरा मिलेकै छैन : पौडेल
आफूहरूसँग समिति सदस्यको नाम मागे पनि तर्कसंगत प्रस्ताव नआएको वरिष्ठ नेता पौडेलले बताए । ‘उहाँहरू छिटो तीनवटा समिति गठन गरौँ, नाम दिनुस् भन्नुहुन्छ,’ पौडेलले नयाँ पत्रिकासित भने, ‘तर, कुरा मिलिसकेको छैन । उहाँहरू रिजनेबल कुरा गर्नुहुन्न । मिल्ने कुरा नगरेसम्म कसरी होला ।’ तर, पौडेलले नाम नदिए पनि सभापति देउवा समिति घोषणा गर्ने तयारीमा छन् । आइतबार पौडेल र सिटौला पक्षको असन्तुष्टिका बाबजुद विधान पारित गरेका देउवा अन्य विषयलाई पनि बहुमतबाटै अघि बढाउने योजनामा छन् ।
पौडेल पक्षले अनुशासन समितिमा वरिष्ठलाई राख्न माग गर्दै आएको छ । ‘अनुशासन समिति पार्टीको न्यायालय हो । गल्ती गरेकालाई कारबाही गर्न सिनियर नेताहरू समेट्नुपर्छ भन्ने हाम्रो माग हो,’ पौडेलनिकट स्रोतले भन्यो ।
पदाधिकारी बैठकमा तीन समिति
विधान पारित भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले तीनवटा समिति गठन गर्ने तयारी थालेका छन् । सोमबार साँझ आफ्नै निवास बूढानीलकण्ठमा पदाधिकारीको बैठक बोलाएर देउवाले अनुशासन समिति, निर्वाचन समिति र विधान नियमावली मस्यौदा समितिका लागि सदस्यको नाम मागेका हुन् । उपसभापति निधिले सभापतिबाट नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग यी समितिमा पठाउने सदस्यको नाम मागिएको बताए ।
‘मंगलबार केन्द्रीय समितिको बैठक बसेर अनुशासन समिति, निर्वाचन समिति र नियमावली संशोधन समिति बनाउने तयारी छ,’ निधिले नयाँ पत्रिकासँग भने, ‘यी समिति छिटो गठन गर्नुपर्ने भएकोले पौडेल र सिटौलासँग नाम मागिएको हो ।’ अनुशासन र निर्वाचन समिति पाँच–पाँच सदस्यीय बन्दा पौडेल र सिटौलालाई एक–एक सदस्य दिने तयारी संस्थापनको छ ।
अनुशासन समितिमा यसअघि भीष्मराज आङदेम्बेलाई संयोजक बनाएर देवेन्द्रराज कँडेल र किशोरसिंह राठोरलाई आफ्नोतर्फको सदस्य बनाउने तयारी देउवाको थियो । तर, पछिल्लो केही दिनयता अनुशासन समितिको संयोजकमा मोहनबहादुर बस्नेतको नाम पनि चर्चामा छ । विधान मस्यौदा नियमावली समिति भने ७ देखि ११ सदस्यीय बन्ने जानकारी निधिले दिए ।
केन्द्रीय समिति बैठकमै सिटौलाले भने, ‘नेविसंघको झगडा झ्यालमा बसेर हाँस्दै हे-यौँ, तर केही गरेनौँ’
झडपलगत्तै बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा गगन थापा, प्रदीप पौडेलसहितका नेताले यो विषयमा कुरा उठाउन चाहे पनि सभापति शेरबहादुर देउवाले ‘बोल्न जरुरी छैन’ भन्दै रुलिङ गरेको एक केन्द्रीय सदस्य बताए । नेता कृष्ण सिटौलाले भने विषयलाई प्रवेश गराएरै छाडे । ‘नेविसंघको झगडा झ्यालमा बसेर हाँस्दै हे-यौँ । कार्यालयको अगाडि आएर ढुंगा हान्नेलाई पनि केही गर्न चाहेनौँ । समस्या समाधानका लागि कोसिस नै नगर्नु गल्ती भयो, हामी रमिते मात्रै बन्यौँ,’ बैठकमा सिटौलाको भनाइ थियो । सिटौलाले यति भन्दा पनि सभापति देउवा मौन बसे ।
शीर्ष नेताहरूलाई निरन्तर दबाब
नेविसंघमा ३२ वर्षे उमेरहद तदर्थ समिति गठन गर्दादेखि लागू गर्ने वा १२औँ महाधिवेशनबाट लागू गर्ने भन्नेमा पार्टीभित्रै विवाद छ । संस्थापन तत्काल लागू नगर्ने पक्षमा छ भने सिटौलापक्ष लागू गर्नुपर्ने अडानमा छ । यही विषयलाई लिएर सिटौला पक्षीय नेविसंघ नेताहरूले पटकपटक शीर्ष नेताहरूलाई घरमै पुगेर समेत झक्झक्याउने गरेका छन् ।
८ फागुनमा सभापति देउवा, नेता रामचन्द्र पौडेल र अर्जुननरसिंह केसीको घरमै पुगेर उनीहरूले उमेरहद लागू गर्न माग गरे । १० माघमा पार्टी कार्यालय पुगेका सभापति देउवाको गाडी घेराउ गर्दै विद्यार्थीहरूले नाराबाजी गरे । ९ फागुनमा उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री डा. प्रकाशशरण महतसँग त विद्यार्थीहरूको भनाभन नै भयो ।
के भन्छन् नेता ?
यसमा मेरो टिप्पणी छैन, विमलेन्द्र निधि, उपसभापति
नेविसंघमा जे भयो त्यो राम्रो भएन । यो घटनाबारे मेरो अरू टिप्पणी छैन ।
आन्तरिक छानबिन गर्दै छौँ
विश्वप्रकाश शर्मा, प्रवक्ता
कांग्रेस केन्द्रीय कार्यालयमा अराजकतापूर्ण घटना भयो । यो सुसंस्कृत विद्यार्थी राजनीतिलाई सुहाउने घटना होइन । यसबारे कांग्रेसले धारणा सार्वजनिक गरेको छैन । तर, के कारणले यस्तो घटना भयो भन्ने केन्द्रीय कार्यालयको तीन सदस्यीय टिमले छानबिन गरिरहेको छ । कुनकुन गुटका विद्यार्थी नेता यो अराजकतामा लागे, उनीहरूमाथि उचित कारबाही हुन्छ । तदर्थ समितिको अध्यक्ष र केन्द्रीय सदस्यका दाबेदार विद्यार्थी घटनामा संलग्न भए उनीहरूले त्यो जिम्मेवारी पाउँदैनन् ।
विधान लागू गर भन्न पनि नपाइने कस्तो शैली ?
प्रदीप पौडेल, केन्द्रीय सदस्य
नेविसंघको समिति विघटन किन गरेको भनेर केन्द्रीय कार्यालयमा आएर धर्ना दिन पाइन्छ । विधान लागू गर भन्न पाइन्छ । आफैँले बनाएको ३२ वर्ष उमेरहद लगाउने विधान लागू गर भन्दा अन्यथा लिने र सुनियोजित रूपमा शान्तिपूर्ण धर्नामा आक्रमण गर्ने काम भयो । विधान लागू गर भनेर पार्टीलाई भन्नुपर्ने अवस्था आउनु लज्जाजनक कुरा हो । आफैँले बनाएको विधान लागू गर्न नसक्नु पार्टीको कमजोरी हो ।






