विराटनगर / पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय आँगनमा टाँगिएको टेन्टमा बसेर उपकुलपतिले कार्यसम्पादन गर्दै आएका छन् ।पदाधिकारी नियुक्ति विरोधमा विश्वविद्यालयका प्राध्यापकले उपकुलपति प्राडा घनश्यामलाल दास, रजिस्ट्रार प्रमिला थापा र सहरजिस्ट्रार राजेशकुमार झाको कार्यकक्षसहित प्रशासन र लेखा शाखामा पुस २९ देखि ताला लगाइएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दास कार्यालयको आँगनमा बसेर काम गर्दै । तस्बिर : विनोद/कान्तिपुर
उक्त ताला नखुल्दा उपकुलपति दास कार्यालयको आँगनमा बसेर दैनिक प्रशासन चलाउन बाध्य छन् ।
Citizen
‘विश्वविद्यालयका केही पदाधिकारी र प्राध्यापकले कार्यकालको अन्तिम समयमा मलाई दिएको यो उपहार स्वीकार्य छ,’ प्राडा दासले भने, ‘म यहीँबाट बिदाइ लिन तयार छु ।’ विश्वविद्यालयले पुस अन्तिम साता समन्वय महाशाखा प्रमुख राजेश झालाई सहरजिस्ट्रार, डिनमा गोपाल शर्मा र कोमल दुलाललाई नियुक्त गरेको थियो । विश्वविद्यालयले गठन गरेको वार्ता टोली र प्राध्यापकबीच पटकपटक भएको वार्ताले निचोड ननिकाल्दा ताला लगाइएको हो ।
पदाधिकारी नियुक्ति बदर गर्नुपर्ने र विश्वविद्यालयभित्रैबाट पदाधिकारी नियुक्त नभएसम्म तालाबन्दी कायमै रहने प्राध्यापक संघ तदर्थ समिति संयोजक सन्देश दास श्रेष्ठको अडान छ । कार्यकारी परिषदले भने सर्वसम्मतले नियुक्ति गरेका पदाधिकारी बदर गर्न नसकिने उपकुलपति दासको अडान छ ।
विश्वविद्यालयको ऐन र नियमावलीका आधारमा कार्यकारी परिषद्ले सर्वसम्मत पदाधिकारी नियुक्त गरेको हो । दासले भने, यो नियुक्ति बदर गर्दा विगतमा भएका पनि गर्नुपर्ने अवस्था आउँछ । पूर्वाञ्चल विश्वविद्यालय नियमावलीको दफा २५ (क) को उपदफा २ अनुसार कार्यकारी परिषद्मा तत्काल बहाल रहेका सदस्य संख्याको ५१ प्रतिशतको उपस्थितिलाई गणपूरक संख्याका आधारमा पदाधिकारी नियुक्त गरिएको हो । दासले यसबाट पछि नहट्ने बताए ।
विश्वविद्यालयका कर्मचारीले पनि बेरीतले कर्मचारी सरुवा गरेको भन्दै त्यसै दिन पदाधिकारीको कार्यकक्षमा ताला लगाएका थिए । पदाधिकारी र कर्मचारीबीच सहमति भएपछि दुई सातापछि कर्मचारीले लगाएको ताला खुलेको थियो । विश्वविद्यालयले बिजु थपलियाको संयोजकत्वमा बनाएको वार्ता टोली र कर्मचारीबीच वार्तापछि कर्मचारीले ताला खोलेका थिए । थपलियाको टोलीसँग प्राध्यापकहरूले वार्ता गर्न नमानेपछि विश्वविद्यालयले चिकित्साशास्त्रका डिन शैलेशमणि पोखरेल संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरे पनि सहमति हुन सकेको छैन ।
प्राध्यापकहरूले सहरजिस्ट्रार झा विश्वविद्यालयभन्दा बाहिरको र योग्यता नपुगेको दाबी गर्दै आएका छन् । झा विश्वविद्यालयमा दुई दशकदेखि कार्यरत छन् । उनी समन्वय महाशाखा प्रमुखमा नियुक्त हुँदा विश्वविद्यालय कर्मचारीले उनको योग्यतामा प्रश्नचिन्ह उठाउँदै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दालाई सर्वोच्चले ०७४ कात्तिक २८ गते खारेज गरेको थियो ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र प्रकाशमानसिंह राउतको इजलासले झा विश्वविद्यालयकै कर्मचारी भएको र उनको योग्यतामा प्रश्नचिन्ह उठाउनुपर्ने नदेखिएको भन्दै निवेदन खारेज गरेको थियो । उपकुलपति दासको कार्यकाल सकिन करिब ६ महिना बाँकी छ । प्राध्यापकले लगाएको ताला लामो समय कायमै रहनुलाई दासपछि नियुक्ति हुने उपकुलपतिको बार्गेनिङका रूपमा हेरिएको छ ।
प्राध्यापकहरू उपकुलपतिसहितका पदाधिकारी विश्वविद्यालयबाटै नियुक्त हुनुपर्ने माग गर्दै आएका छन् । अघिल्ला उपकुलपतिको नियुक्तिताका पनि केन्द्रीय कार्यालयमा लामो समय ताला लागेको थियो ।