तेह्रथुम / जिल्लाभरका स्थानीय तहले विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा अभियान सञ्चालन गरिरहेका बेला फेदाप गाउँपालिकाले भने सबै विद्यालयमा कम्प्युटर शिक्षा सुरु गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयका विद्यार्थीलाई कम्प्युटर माध्यमबाट शिक्षा प्रदान गर्न अभियान सुरु गरिएको अध्यक्ष हरि चोङबाङले बताए ।
तेह्रथुमको फेदाप गाउँपालिका ओयाक्जुङको सिद्धकाली माविमा कम्प्युटर शिक्षा अध्ययन गर्दै विद्यार्थीहरू । तस्बिर : चन्द्र/कान्तिपुर
सबै विद्यार्थीलाई कम्प्युटरसम्बन्धी प्राविधिक ज्ञान दिन अभियान नै सुरु गरिएको गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा गाउँपालिकाभित्र रहेका १५ विद्यालयमा कम्प्युटर शिक्षा लागू गरिएको प्रवक्ता नवीन चोङबाङले बताए । यो वर्ष ७ आधारभूत र ८ माध्यमिक गरी १५ विद्यालयमा कार्यक्रम सुरु भएको छ । कम्प्युटर शिक्षा पढाउनका लागि यी सबै विद्यालयमा गाउँपालिकाकै सहयोगमा १५ जना कम्प्युटर शिक्षक नियुक्ति गरिएको छ ।
Citizen
कम्प्युटर शिक्षा पढाउने शिक्षकलाई प्रतिशिक्षक गाउँपालिकाले २० हजारका दरले तलव सुविधा दिएको अध्यक्ष चोङबाङले बताए । गाउँपालिकामा ४३ सामुदायिक विद्यालय छन् । आगामी आर्थिक वर्षबाट बाँकी रहेका सवै विद्यालयमा कम्प्युटर प्रविधिको शिक्षा लागू गर्न अहिलेदेखि नै तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।
सबै विद्यालयमा अध्यनरत विद्यार्थीलाई कम्प्युटरमा दक्ष बनाउने उद्देश्य गाउँपालिकाको छ । त्यसका लागि विद्यालयमा इन्टरनेट जडानको काम समेत चलिरहेको छ । विद्यालयमा कम्प्युटर शिक्षाको पढाइ हुन थालेपछि विद्यार्थीको संख्या समेत बढेको फेदाप गाउँपालिका ओयाक्जुङमा रहेको सिद्धकाली माविका प्रध्यानाध्यापक कुलप्रसाद दुलालले बताए । ‘कम्प्युटर शिक्षा पढाइ हुन थालेपछि सदरमुकामतर्फ गएका विद्यार्थी समेत गाउँकै विद्यालयमा फर्किएर आउन थालेका छन्,’ प्रअ दुलालले भने ।
गाउँकै विद्यालयमा कम्प्युटर शिक्षा पढाइ हुन थालेपछि दलित, बिपन्न, जोगी लगायतका समुदायका छोरा छोरीले समेत निःशुल्क कम्प्युटर शिक्षा अध्ययनको अवसर पाएको विद्यालयले जनाएको छ । कम्प्युटर शिक्षामा विद्यार्थीको आकर्षण बढेको र कम्प्युटर भने थोरै भएकाले केही समस्या भने भएको प्रअ दुलालको भनाइ छ ।
कम्प्युटर शिक्षक नियुक्त भएका सबै विद्यालयसँग पर्याप्त कम्प्युटर छैनन् । विद्यालयको आन्तरिक स्रोतबाटै भए पनि अधिकांश विद्यालयले कम्प्युटर खरिद गरिरहेका छन् । केही विद्यालयले अघिल्ला वर्षहरूमा शिक्षा कार्यालयबाट प्राप्त कम्प्युटर प्रयोगमा ल्याएका छन् । केही विद्यालयले भने विद्यालयमा कम्प्युटर खरिदका लागि दातालाई गुहारेका छन् ।
अंग्रेजी माध्यमको भन्दा प्रयोगात्मक कम्प्युटर शिक्षा महत्त्वपूर्ण भएकाले जिल्लाकै अन्य स्थानीय तह जस्तो आफ्नो गाउँपालिकाले अंग्रेजी माध्यमको शिक्षालाई नरोजेको गाउँपालिका अध्यक्ष चोङबाङले बताए । अबको पाँच वर्षभित्रमा गाउँपालिकाभित्रका सवै विद्यालयको पठनपाठन प्रोजेक्टरको माध्यमबाट हुने गरी अहिलेदेखि नै विद्यालयको भौतिक पूर्वाधार निर्माणमा समेत खर्च भइरहेको उनले बताए ।
कम्प्युटर शिक्षक पाएका विद्यालयले पालो गरेर विद्यार्थीलाई कम्प्युटर शिक्षा अध्यापन गराइरहेका छन् । कम्प्युटर थोरै भएको र विद्यार्थी धेरै भएकाले एक पटकमा कम्प्युटरको संख्या हेरी १० जनादेखि १५ जना विद्यार्थीलाई एकै साथ पढाउने गरिएको सिद्धकाली मावि ओयाक्जुङका कम्प्युटर विषयका शिक्षक नरेश नेपालीले बताए ।
‘कम्प्युटर विषयमा विद्यार्थीको एकदमै रुचि छ,’ शिक्षक नेपालीले भने, ‘तर पर्याप्त कम्प्युटर नहुँदा भने समस्या भएको छ ।’ आफू अध्ययनरत विद्यालयमै कम्प्युटर विषयको शिक्षा अध्ययन गर्न पाएकाले धेरै सजिलो भएको कक्षा ८ मा अध्ययनरत विद्यार्थी दिना लिम्लूे बताइन् ।
गाउँपालिकाले कम्प्युटर शिक्षा अध्ययन भइरहेका र हुने तयारीमा रहेका प्रत्येक विद्यालयको कार्यालय व्यवस्थानका लागि ५० हजारका दरले विद्यालयको खातामा रकम पठाइदिएको छ । यो पैसा पाउने केही विद्यालयले कम्प्युटर कक्षाका लागि भौतिक पूर्वाधारका काम गरिरहेका छन् ।
आगामी वर्षबाट फेदाग गाउँपालिकाका सवैजसो विद्यालयमा इन्टरनेट सञ्जाल समेत विस्तार गरिसक्ने गरी अहिलेदेखि नै तयारी भइहरेको प्रवक्ता नविनले जनाए । पहिले कम्प्युटर शिक्षामा विद्यार्थीको हात बसाएपछि इन्टरनेटको माध्यमबाट पठनपाठन गराइने उद्देश्यले गाउँपालिकाले काम गरिरहेको प्रवक्ता नबिनको भनाइ छ । कम्प्युटर शिक्षाको सैद्धान्तिक र व्यावहारिक ज्ञान पाएको कोही पनि विद्यार्थी उच्च शिक्षा अध्ययनपछि पनि बेरोजगार बस्न नपर्ने अध्यक्ष हरी चोङबाङले बताए । ‘अबको शिक्षा व्यावहारिक र रोजगारमुखी हुनपर्छ,’ अध्यक्ष चोङबाङले भने ।