मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने
शिक्षाखबर डेस्क
८ चैत्र २०७५, शुक्रबार
no immg

काठमाडौं / विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमति भएको छ। जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई यही चैत ८ गतेसम्मको अवधिमा फारम भर्न लगाउने र विद्यार्थी संगठनले गरेको तालाबन्दी खुलाउने सहमति भएको अनेरास्ववियुका सचिव आरसी लामिछाने जनाए।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सचिव खगराज बराल, त्रिवि उपकुलपति डा. तीर्थराज खनियाँ, निजी कलेज सञ्जालकका प्रतिनिधि, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघका प्रतिनिधिबीच बिहीबार सिंहदरबारमा वार्ता भएको थियो। सो विषयमा कारबाही नभएको भन्दै सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले मंगलबार त्रिवि उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानको डीनको कार्यालयमा तालाबन्दी गरेका थिए। गण्डकी र किष्ट मेडिकल कलेजमा आफूखुशी शुल्क असूल भएको र परीक्षा फाराम भर्न नपाएका विद्यार्थीलाई मनोवैज्ञानिक त्रास दिई मुद्दा फिर्ता लिन दबाब दिएको विषय कानुनी कारबाहीको सवाल भएकाले तालाबन्दी खुले पनि पीडित विद्यार्थीले मुद्दा फिर्ता नलिने जनाए।

प्रतिक्रिया