यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा देशभरबाट कूल चार लाख ७५ हजार तीन जना परीक्षार्थी सहभागि हुने भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यही चैत १० गते देखि २१ गतेसम्म हुने परीक्षामा सामेल हुन नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका गरी कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएका छन् ।
जसमध्ये दुई लाख ३६ हजार ४ सय ४५ पुरुष र दुई लाख ३८ हजार ५ सय ५८ महिला विद्यार्थी छन् । परीक्षा नियन्त्रक अधिकारीका अनुसार परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ का बिद्यार्थी सहभागी हुने भएका छन् ।
यस प्रदेशबाट १ लाख ६ सय २ जना परिक्षार्थी सहभागि हुने भएका छन् । सबैभन्दा कम प्रदेश ६ का रहेका छन् । ६ नम्बर प्रदेशमा ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागि हुँदै छन ।
यो बर्ष प्रदेश अनुसार प्रश्नपत्र छपाई गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणी पौडेलले बताउनुभयो ।
परीक्षाका लागि एक हजार ९ सय ६९ केन्द्राध्यक्ष, तीन हजार १ सय ६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालित छन् भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुँदैछ ।
मुलुक संघीयतामा गईसकेको अबस्थामा पहिलो पटक एसईई परीक्षा ब्यबस्थापन, संचालन, अनुगमन, उत्तरपुस्तिका खरीद लगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्दैछ भने परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन गर्ने बताईएको छ ।
-साभार : रेडियो नेपाल