कक्षा ११ र १२ को बार्षिक परिक्षा तयारी पुरा, प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामरा जडान
शिक्षाखबर डेस्क
१४ बैशाख २०७६, शनिबार
no immg

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र कक्षा १२ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

देशभर एकैसाथ १५ गते आइतबार बिहान ७ बजेदेखि शुरु हुने कक्षा १२ र वैशाख २९ गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताउनुभयो।

कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ र कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४ सय ९४ परीक्षार्थी गरी कूल नौ लाख ३६ हजार ५ सय ४६ परीक्षार्थीको सहभागिता रहने बताउँदै उहाँले कक्षा १२ र कक्षा ११ को परीक्षामा चार लाख ४२ हजार, ९ सय ९७ छात्र र चार लाख ९३ हजार ५ सय ४९ छात्राको सहभागिता रहने जानकारी दिनुभयो।

आगामी २६ गते सम्पन्न हुने कक्षा १२ को परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ।

यसैगरी वैशाख २९ गते शुरु भई जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ।

सबभन्दा कम मनाङ जिल्लाबाट कक्षा ११ को परीक्षामा ५१ र कक्षा १२ मा ५९ तथा सबैभन्दा धेरै काठमाडौँ जिल्लाबाट कक्षा ११ मा ७१ हजार ५ सय २७ र कक्षा १२ मा ६२ हजार ५ सय ८८ परीक्षार्थी सहभागी हुँदैछन्।

बोर्डले परीक्षाका लागि देशभर एक हजार १ सय ७ परीक्षा केन्द्र निर्धारण गरेकामा सबभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा १ सय २२ वटा र सबैभन्दा कम मनाङ, मुस्ताङमा एक, एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका सदस्यसचिव दुर्गा अर्यालले बताउनुभयो।

परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ।

कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ।

गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामरा जडान गरेको छ।

बोर्डले केन्द्र नजिकै सिसीटिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरेको जानकारी दिँदै उहाँले बोर्डको मुख्यालयमा रहेको नियन्त्रण कक्षबाटै देशैभरको परीक्षाबारे जानकारी लिने व्यवस्था गरिएको बताउनुभयो।

परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालय बाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको छ।

परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी ‘बल्क एसएमएस’ को व्यवस्था गरेको छ भने कुनै त्रुटि देखिए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्रुटि सच्याएर बोर्डलाई जानकारी गराउँदै यसबारे सबै केन्द्रमा जानकारी गराउने व्यवस्था गरेको छ।

परीक्षामा अनियमितता गरेको पाइए जिल्ला परीक्षा समन्वय समितिलाई तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्नसक्ने अधिकार दिइएको छ भने परीक्षामा अमर्यादित काम गर्ने ब्यक्तिलाई छ महीना कैद र एक लाख रुपैयाँ जरिवाना गर्नसक्ने व्यवस्था गरिएको अर्यालले बताउनुभयो।

बोर्डले यो वर्षदेखि विद्यार्थीको नाम, थर, जन्ममिति, रजिस्टे«सन, विषय र परीक्षामा रुजु गर्ने व्यवस्था मिलाएको छ। बोर्डले आफ्नो वेबसाइटमा परीक्षा मेमोमा गएर पुनः रजिस्ट्रेसन नम्बर इन्ट्री गरी हेर्नसक्ने व्यवस्था गरेको सदस्य–सचिव अर्यालले बताउनुभयो।

परीक्षाका लागि प्रदेश १ मा १ सय ९७, २ मा १ सय १५, ३ मा ३ सय ३, गण्डकीमा १ सय १८, प्रदेश ५ मा १ सय ६२, कर्णालीमा ९३ र सुदूरपश्चिममा १ सय १९ परीक्षा केन्द्र निर्धारण गरेको छ।

परीक्षामा एक हजार १ सय ७ केन्द्राध्यक्ष, एक हजार ४ सय ८९ सहायक केन्द्राध्यक्ष, १५ हजार १ सय ७ निरीक्षक, एक हजार ४ सय ८९ कर्मचारी, दुई हजार २ सय १४ कार्यालय सहयोगी र १३ हजार १ सय ८४ सुरक्षाकर्मीसहित ३४ हजार ४ सय ९० जनशक्ति परिचालन गरिने भएको छ ।

-साभार : सेतोपाटी नेपालको डिजिटल पत्रिका

प्रतिक्रिया