भागबन्डा होइन, मेरिटका आधारमा उपकुलपति नियुक्त हुन्छ : प्रधानमन्त्री
शिक्षाखबर डेस्क
३ पुष २०८०, मंगलवार
no immg

काठमाडौँ / त्रिभुवन विश्वविद्यालयको सोमबार भएको ४९ औं दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले भागबन्डा अन्त्य गरी प्रतिस्पर्धाका आधारमा उपकुलपति चयन गर्ने वाचा गरे । ‘विश्वविद्यालयहरूमा हुने राजनीतिक नियुक्तिहरूमा भागबन्डाको अन्त्य गरी मेरिटका आधारमा पदाधिकारी नियुक्त गरिनेछ,’ उनले भने, ‘त्यसका लागि देशभित्र र विश्वभरि रहेका विज्ञ नेपालीहरूलाई विशेष आह्वान पनि गर्दछु । राजनीतिक दलहरूलाई त्रिविमा भागबन्डा होइन मेरिटका आधारमा नियुक्ति हुनका लागि अग्रसर हुन अपिल गर्दछु ।’

प्रधानमन्त्री दाहालले शिक्षालाई सर्वसुलभ बनाउँदै प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने नीति सरकारले लिएको बताए । विश्वविद्यालय शिक्षामा पनि समायनुकूल सुधार गर्दै लैजाने प्रतिबद्धता जनाए । ‘विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समातामूलक र सबै वर्ग, समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने, ‘यसका लागि उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै लैजानुपर्छ ।’ आगामी दिनमा प्राविधिक शिक्षाको भूमिका अझै बढाउँदै लैजानुपर्ने दाहालले बताए । ‘उपाधि हासिल गरेका विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिविको सामयिक चुनौती हो,’ उनले भने, ‘संख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको अनिवार्य आवश्यकता हो ।’

प्रतिक्रिया